
कुल आगमनको २४ प्रतिशत हिस्सा ओगटेको भारतीय पाहुनाको संख्या ७ हजार ९ सय छ । भारतीय विमान कम्पनीका साथै बुद्ध एयरले समेत सेवा सुरु गरेको हुँदा उल्लेखनीय पाहुना भित्रिएको व्यवसायीको भनाइ छ । जनवरी ७ देखि उडान थालेको बुद्धले भारतबाट करिब २ सय ५० पर्यटकलाई विमानस्थलमा उतारेको छ । यो महिना आएका भारतीय पर्यटक गत वर्षको यही अवधिको भन्दा ३५ प्रतिशत बढी हो । २०१० को जनवरीमा ५ हजार ८ सय भित्रिएको तथ्यांक छ ।
भारत-नेपाल उडान गर्ने विमान कम्पनीले संख्या विस्तार गर्दै जानु र बुद्धले उडान सुरु गरेपछि यहाँबाट बढी पर्यटक आउन सम्भव भएको नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्ट्स (नाटा) का पूर्वअध्यक्ष तथा व्यवसायी रामकाजी कोनेले बताए । त्यस्तै चीनबाट उडान गर्ने साउथर्नले आफ्नो उडान संख्यालाई दोब्बर (सातामा ६) बनाएको छ । ‘इस्टर्नले पनि संख्या बढाएर उडान सुरु गर्नुले फाइदा पुगेको हो,’ उनले भने, ‘अफ सिजनमा समेत पर्यटक बढ्नु सकारात्मक संकेत हो ।’
यो महिना चीनबाट ३ हजार २ सय पर्यटक भित्रिए । २०१० को अन्तिम तीन महिना इस्टर्नले उडान बन्द गरेपछि भने चिनियाँ पर्यटक केही घटेका थिए । दक्षिण कोरियाबाट २ हजार ७ सय २०, अमेरिकाबाट २ हजार ४ सय ४६ र बेलायतबाट १ हजार ६ सय ३० पर्यटक भित्रिएका छन् । जापानी पर्यटकको संख्या १ हजार ६ सय छ । यी सबै मुलुकबाट आउने पर्यटक गत वर्षभन्दा २० प्रतिशतदेखि ७० प्रतिशतले बढेका हुन् ।
‘पर्यटकीय गन्तव्य र गतिविधिको प्रवर्द्धन राम्रो भइरहेकाले पनि संख्या बढेको हो,’ नाटा अध्यक्ष अर्जुन शर्माले भने, ‘आन्तरिक समस्या भए पनि पर्यटकलाई त्यसले प्रभाव नपार्ने भएपछि यहाँ घुम्न आउनेको त्राससमेत कम भएको छ । यसले व्यवसायी र मुलुक दुवैलाई सीधा फाइदा पुगेको छ ।’ सरकारले बढ्दो संख्यालाई लक्षित गरी विमानस्थललाई २४ घन्टा सञ्चालनमा ल्याउन गरेको पहल द्रुत भए हालको भन्दा दोब्बर पाहुना आउन सक्ने दाबी उनको छ ।
एसियाली मुलुकको वृद्धिदर ३६ दशमलव ६ प्रतिशत छ । त्यस्तै युरोपेली देशका पाहुना १४ प्रतिशतले बढेका छन् । यसले नेपाली भ्रमण प्याकेज सञ्चालकहरूमा आत्मविश्वास बढाउने काम गरेको नेपाल एसोसिएसन अफ टुर अपरेटर (नाटो) का अध्यक्ष अशोक पोखरेलले बताए । ‘यहाँ आएर बढी खर्च गर्ने र लामो समय बिताउने पर्यटकमा युरोपेली पर्छन्,’ उनले भने, ‘त्यसपछि खर्च गर्नेमा भारतीय पर्छन् ।’
२००९ को जनवरीमा अघिल्लो वर्षभन्दा १५ प्रतिशतले घटेको थियो । त्यसमा भारतीय पर्यटक १७ प्रतिशत कम आएका थिए । तर २०१० मा १८ प्रतिशत बढी पर्यटक आएका थिए । २००९ देखि नै सुरु भएको बढ्ने क्रम २०११ मा समेत कायम हुँदा यो वर्षको अन्तिमसम्म हवाई मार्गबाट ७ लाख पर्यटक आउने आशा गरिएको छ । अस्ट्रेलिया, न्युजिल्यान्ड र क्यानडाबाट आउनेहरू क्रमशः २३ दशमलव ८, ५९ र ९ दशमलव ८ प्रतिशतले बढेका छन् ।



