लामो समयदेखि आन्तरिक विवाद झेल्दै आएको माओवादी मजदुर संगठन औपचारिकरुपमै फुट्यो

काठमाडौं  – संचार माध्यमहरुले जनाए अनुसार  लामो समयदेखि आन्तरिक विवाद झेल्दै आएको माओवादी मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ औपचारिकरुपमै फुटेको छ । उपाध्यक्ष बद्रीप्रसाद बजगाईंको नेतृत्वमा आइतबार ‘अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ’ गठन भएको छ ।

संस्थापन पक्षका अध्यक्ष शालिकराम जमरकट्टेलसँगको विवादका कारण महासंघ बैठकसमेत लामो समयदेखि बस्न सकेको थिए । बजगाईं भने बरिष्ठ उपाध्यक्ष मोहन वैद्य निकट मानिन्छन् । असन्तुष्टहरुको माघ १७ र १८ गते राजधानीमा भएको भेलाले नयाँ मजदुर संगठनको निर्माण गरेको हो ।

नयाँ संगठनको संयोजकमा उपाध्यक्ष बजगाईं र सह-संयोजक सचिव गोविन्द पौडेल छन् । पाँचौं राष्ट्रिय सम्मेलन आयोजक समिति भनी निर्माण गरिएको संगठनमा ७२ सदस्य छन् ।

माओवादीको खरिपाटी बैठकमा उपाध्यक्ष वैद्यको फरक मतको समर्थन गरेको भन्दै आफूमाथि कारबाही भएको, आक्रमण भएको तथा आर्थिक नाकाबन्दी गरिएको आरोप बजगाईं पक्षले लगाउँदै आएको थियो ।

‘खरिपाटीमा भएको राष्ट्रिय भेलामा प्रस्तुत दुई प्रस्तावमध्ये उपाध्यक्ष कमरेड किरणको प्रस्तावको समर्थन गरे बापत भोग्दै आयौं,’ जारी विज्ञप्तीमा भनिएको छ, ‘अध्यक्ष कमरेड प्रचण्डको पक्षमा रहेका शालिकराम जमरकटेलले मजदुर संगठनलाई अर्थवादी र ट्रेड युनियनवादी दिशामा डोर्‍याउन, मजदुर आन्दोलनको नेतृत्वलाई अभिजातवर्गको कित्तामा रुपान्तरित गर्न, दलाल पूँजीपतिहरुको पक्षपोषण र राष्ट्रिय चरित्र भएका उद्योगी ब्यवसायीहरुमाथि प्रहार केन्द्रित गरे ।’

जम्मरकट्टेल पक्षले पार्टीका क्रान्तिकारीहरुलाई अलग्याउने षड्यन्त्र गरेको आरोप बजगाईं पक्षको छ । ‘संगठन भित्रको एउटा पक्षलाई पुरै अलग्याउने र निषेध गर्ने कामबाट शालिकराम पक्षले डेढ वर्ष अघिदखि नै संगठनमा फूटको सुरुआत गरेको हो,’ विज्ञप्तीमा भनिएको छ ।