कोसी पहाडी जिल्लामा लिम्बुवान र यातायात व्यवसायीको दोहोरो अनिश्चितकालिन बन्दका कारण जनजीवन कष्टकर

धनकुटा  – धनकुटाबाट प्राप्त समाचार अनुसार मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका कार्यकर्ताले सवारी साधनमा आगजनी गरेपछि यातायात व्यवसायीले घटनाको छानबिन तथा क्षतिपूर्तिको माग गर्दै कोसी पहाडी जिल्लामा अनिश्चितकालिन बन्दको घोषणा गरेका छन् । परिषद र व्यवसायीको दोहोरो बन्दले यहाँको जनजीवन थप कष्टकर बन्दै गएको छ ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धनकुटाले घटनाको विरोधमा आइतबार दिनभर हिले बजारमा प्रदर्शन गर्नुका साथै विरोध सभा आयोजना गरेको छ । संगठनले धनकुटा, भोजपुर, संखुवासभा र तेह्रथुम बन्दको घोषणा गरेको छ । मजदुर संगठनको अगुवाइमा गरिएको बन्दलाई ट्याक्सी व्यवसायी संघ लगायतले पनि समर्थन जनाएका छन् ।

यस्तै, निर्वाचन आयोगले सञ्चालन गरेको फोटो सहितको मतदाता नामावली कार्य बन्द गर्नु पर्ने माग राख्दै परिषदले समेत अनिश्चितकालिन बन्दको घोषणा गरेको छ । परिषदले आह्वान गरेको बन्दका क्रममा सवारी साधन चलाएको भन्दै हिजो धनकुटा ४ देब्रेबासको स्कुलडाँडामा परिषद कार्यकर्ताले माइक्राबवस जलाएका थिए ।

माइक्रोबसका यात्रु समेत ओर्लन नपाउँदै आगजनी गर्दा यात्रुले मुस्किलले ज्यान जोगाएका थिए । घटनापछि विगत दुइ दिनदेखि धनकुटा सदरमुकाम तथा हिले बजारमा यातायात व्यवसायीले क्षतिपूर्ति र घटनाका दोषीलाई कारबाहीको माग राख्दै प्रदर्शन गर्दै आएका छन् । तत्काल कारबाही र क्षतिपूर्ति नभए शसक्त आन्दोलनमा उत्रने मजदुर संगठनका अध्यक्ष गणेश थापाले जानकारी दिए  ।

यसक्रममा परिषदका ६ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । प्रशासनले घटनामा सम्लग्नको खोजीकार्य भइरहेको र वार्ताबाट सम्पुर्ण समस्याको समाधान गर्ने जनाएको छ ।