माओवादी र एमालेवीच मन्त्रिपरिषद विस्तार र मन्त्रालय बाँडफाडका बिषयमा सहमति कायम हुन नसक्दा मन्त्रीपरिषदको विस्तार हुन सकेन

एकीकृत नेकपा माओवादी र नेकपा एमालेवीच मन्त्रिपरिषद विस्तार र मन्त्रालय बाँडफाडका बिषयमा सहमति कायम हुन नसक्दा आज मन्त्रीपरिषदको विस्तार हुन सकेन । नवनिर्वाचित प्रधानमन्त्री झलनाथ खनालले आज एक्लै पद तथा गोपनीयताको सपथ लिनु भएको छ । गृहमन्त्रालयमा माओवादी र एमालेवीच दाबी रहेकाले मन्त्रिपरिषद बिस्तारमा बिवाद भएको हो । नवनिर्वाचित प्रधानमन्त्री खनालले आजै राष्ट्रपति डाक्टर रामवरण यादव समक्ष पद तथा गोपनियताको सपथ लिनु भएको हो ।


आज भएको एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री झलनाथ खनाल तथा कार्यदलका सदस्यवीच भएको बार्तामा गृहमन्त्रालय कसले राख्ने भन्ने बिषयमा बिवाद भएको छ । सम्बाददाताहरुसंग कुरागर्दै एकीकृत माओवादीका नेता देब गुरुङले मन्त्रीमण्डलका विषयमा सहमति नभइसकेकोले प्रधानमन्त्री बाहेक अन्य मन्त्रीहरुलाई सपथ ग्रहण गराइए मान्य नहुने बताउनुभएको छ । उहाँले एमालेले सहमति तोडेको बताउनुभएको छ ।

 

गृहमन्त्रालय माओवादीले पाउने पहिलै सहमति भएको तर एमालेले आफै राख्न चाहेकाले सहमति हुन नसकेको बताउनुभयो । नेता गुरुङले एमालेले मन्त्री बनाउनका लागि आफैले मन्त्रालय छानेर मन्त्रीलाई सपथ दिने भएमा आफुहरुले सपथग्रहणको कार्यक्रममा सहभागिता नजनाउने चेतावनी पनि दिनुभयो । यसअघि नेकपा एमालेले स्थायी समिति सदस्य भरतमोहन अधिकारी, सचिब विष्णु पौडेल र अर्का वैकल्पिक पोलिटव्युरो सदस्य गंगालाल तुलाधरलाई पहिलो चरणमा मन्त्रिपरिषदमा सहभागी गराउने निर्णय निर्णय गरेपछि माओवादीले आपत्ति प्रकट गरेको छ ।

 

एमालेले अधिकारीलाई अर्थ, पौडेललाई गृह र तुलाधरलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको थियो ।
यसअघि आ-आफ्नै अडानका कारण दुई दलीय कार्यदलको बैठकमा पनि कुरा नमिलेपछि प्रधानमन्त्री खनाल र माओवादी अध्यक्ष प्रचण्डले विवाद टुङ्ग्याउने निर्णय गरेको थियो ।