एक वर्षको अवधिमा इन्टरनेट प्रयोगकर्ताको संख्यामा उच्च वृद्धि भएको छ । गत वर्षको मंसिर महिनाको तुलनामा अहिले इन्टरनेट प्रयोगकर्ताको संख्या झन्डै तीन गुणाले बढेको छ ।
गत वर्षको मंसिरमा कुल जनसंख्याको 2 दशमलव 55 प्रतिशतमा मात्र इन्टरनेट पुगेकामा यो संख्या यसपालि 6 दशमलव 78 प्रतिशत पुगेको छ । असोजको तुलनामा इन्टरनेट प्रयोगकर्ताको संख्या एक प्रतिशतले वृद्धि भएको छ । दूरसञ्चार प्राधिकरणले हालै प्रकाशित गरेको प्रतिवेदनअनुसार एक वर्षको अवधिमा मोबाइलमा जिपिआरएस चलाउनेको संख्यामा भएको वृद्धि र एडिएसएलको विस्तारले पनि इन्टरनेट प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि गर्न सघाएको हो । गत वर्षको मंसिरमा मुलुकको अनुमानित 2 करोड 75 लाख जनसंख्यामध्ये 7 लाख 3 हजारमा इन्टरनेटको पहुँच थियो, प्रतिवेदनमा छ, यस मंसिरमा अनुमानित 2 करोड 80 लाख जनसंख्यामा 19 लाख 2 हजारमा इन्टरनेट सेवा पुगेको छ ।
मुलुकका प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकम र एनसेलले पछिल्लो समयमा मोबाइलमा डाटा सेवालाई प्राथमिकता दिएकाले संख्यामा उल्लेख्य वृद्धि भएको हो । गत वर्षको मंसिरमा जिपिआरएस चलाउनेको संख्या 5 लाख 19 हजार रहेकामा यस मंसिरमा यो संख्यामा उच्च वृद्धि भई 16 लाख 64 हजार पुगेको छ ।
एक वर्षमा नेपाल टेलिकमले दिएको एडिएसएल सेवा प्रयोगकर्ताको संख्या दोब्बर भएको छ । डायलअप सेवा प्रयोकर्ता भने घटेका छन् । इन्टरनेट सेवा प्रदायकको लाइसेन्स पाएका कम्पनीले दिने केबल इन्टरनेट प्रयोगकर्ताको वृद्धिदर पनि न्यून छ । नेपाल टेलिकम र युटिएलले सिडिएमए प्रविधिबाट दिइरहेका इन्टरटनेट सेवा प्रयोकर्ताको संख्यामा उल्लेख वृद्धि भएको छ ।



