कांग्रेसले दाहाल-खनाल सात बूँदे सहमति विगतका संझौता र सहमतिमाथिको विश्वासघात भन्दै त्यसलाई कार्यन्वयनमा आउन नदिने

काठमाडौ – काठमाडौंबाट प्राप्त समाचार अनुसार कांग्रेसले दाहाल-खनाल सात बूँदे सहमति विगतका संझौता र सहमतिमाथिको विश्वासघात भन्दै त्यसलाई कार्यन्वयनमा आउन नदिने बताएको छ ।

कांग्रेस ससंदीय दलको सिंहदरबारमा सोमबार बसेको कार्यसमिति बैठकले सहमती शान्ति र लोकतान्त्रिक संविधान निर्माण नगर्ने षडयन्त्रको रुपमा आएको बताएको छ । ‘गोप्य सहमती लोकतन्त्र, शान्ति र संविधाननिर्माण विरुद्ध आएको ठुलो षडयन्त्र हो’ बैठकको निष्कर्ष सुनाउदै प्रवक्ता नविन्द्रराज जोशीले भने- ‘यो जनआन्दोलनको भावना बिरुद्ध समेत हो ।’

बैठकमा दलका नेता रामचन्द्र पौडेलले १६ औं पटकसम्मको प्रधानमन्त्री निर्वाचन प्रकृयामा भाग लिनु परेको कारणबारे जानकारी गराएका थिए । सहयात्री दल एमालेले सहयोग गर्ने आशामा उम्मेदवारी निरन्तरता दिएको पौडेलको कथन थियो । ‘सत्ताका लागि अन्तिम अवस्थामा दाहाल र खनाल बीच गोप्य संझौता भयो, जसले शान्ति प्रकृया र संविधान निर्माणलाई अप्ठ्यारो मोडमा पुर्‍याएको छ’ पौडेलले भने,- ‘यो सहमति शान्तिसंझौता, अन्तरिम संविधान विपरित छ ।’

बैठकमा दुई नेताबीचको सहमतीले मुलकको राजनीति अतिबाम धुवि्रकरणमा लैजाने खतरा बढेकाले कांग्रेसले शान्ति र संविधान निर्माणलाई अघि बढाउन रचनात्मक भूमिकामा बस्नुपर्ने जोड दिईएको थियो । केन्द्रीय कार्यसमितिले आईतबार पार्टी प्रतिपक्षमा बस्ने, सरकारलाई उसको गुण र दोषको आधारमा नीति निर्धारण गर्ने निर्णयलाई निरन्तरता दिने दलको कार्यसमितिले पनि निर्णय लिएको छ । ‘शान्ति र संविधान निर्माणलाई अघि बढाउन प्रभावकारी, शालिन र बलियो प्रतिपक्षको भूमिकामा बस्ने निर्णय दलको कार्यसमितिले गरेको छ’ प्रवक्ता जोशीले भने ।

कांग्रेस केन्द्रीय समिति बैठकले पनि पार्टी प्रतिपक्षमा बस्ने निर्णय लिदै दुई नेता बीच गोप्य सहमतिको भत्र्सना गरेको थियो । कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले दुई नेताबाट सहमती स्विकार गरेको अवस्थामा कांग्रेस गंभीर भएको बताए ।

‘गोप्य सहमति राष्ट्रसंघको रोहबरमा गरेको विस्तृत शान्ति संझौंतामाथि गरिएको विश्वासघात हो’ केसीले भने- ‘यो सहमती माओवादीले घुमाएर सक्ता कव्जाकै योजना अघि बढाएको देखिन्छ ।’ उनले गोप्य सहमतिबाट लडाकु समायोजन र पुर्नस्थापनामा गंभिर प्रश्न उठाएको बताए । ‘लडाकुको एउटै बल बनाउने विषय कुनै हालतमा स्वीकार्न सक्दैनौ’ केसीले भने- ‘विशेष समितिमा हाम्रो पोजिशन यथावत छ । त्यसबाट पछि हटने अवस्थामा छैनौ ।’ कांग्रेसले स्थापित मापदण्ड अनुसारनै लडाकुको समायोजनको प्रस्ताव राख्दै आएको छ ।