मन्त्रालय बाँडफाँटमा अझै कुरा मिलेन, माओवादीबाट मन्त्रीको टुङ्गो लगाउन स्थायी समितिको बैठक बस्दै

सत्तासाझेदार एमाले र माओवादीबीच सहमति हुन नसक्दा प्रधानमन्त्री निर्वाचन भएको ६ दिन भइसक्दा पनि मन्त्रिमण्डल विस्तार हुन सकेको छैन । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दूई दलका शीर्ष नेताबीच बसेको बैठकले पनि कुनै सहमति जुटाउन सकेन । अपरान्ह फेरि छलफल गर्ने सहमति बनेको छ ।


प्रधानमन्त्री झलनाथ खनाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच झण्डै एक घण्टा छलफल भएको थियो । दुई नेताबीच फेरि बैठक बसी सुरुमा सानो आकारको मन्त्रिमण्डल गठन गर्ने सहमति भएको छ । बैठकपछि माओवादी अध्यक्ष दाहालले आफ्नो पार्टी स्थायी समितिबैठक पछि पुनः प्रधानमन्त्री र एमाले नेताहरुसंग छलफल हुने बताए ।अपरान्ह तीन बजे बस्ने स्थायी समिति बैठकले मन्त्रिपरिषद्मा पठाइने व्यक्ति बारे निर्णय गर्ने छ ।


एमालेले गृह र रक्षा मन्त्रालय माओवादीलाई दिन नहुने अडान लिएपछि मन्त्रिमण्डल विस्तारमा ढिलाई भएको छ । माओवादीले भने एमाले सातबुँदे सहमतिबाट पछि हट्न खोजेकोले समस्या भएको बताएको छ । माओवादीले गृह र रक्षामा दावी गर्दै आएको छ । मन्त्रिमण्डल विस्तारमा कुरा नमिलेपछि आइतबार प्रधानमन्त्री झलनाथ खनालले मात्र सपथ लिएका थिए ।