काठमाडौं – नेकपा (एमाले) स्थायी कमिटी बैठकले यही माघ २० गते नेकपा (एमाले) का अध्यक्ष र एकीकृत नेकपा (माओवादी) का अध्यक्षबीच भएको सातबुँदे सहमतिलाई अनुमोदन गरेको छ।
नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री झलनाथ खनालको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको स्थायी कमिटी बैठकले सो निर्णय गरेको नेकपा (एमाले)द्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
सातबुँदे सो सहमतिपत्रमा प्रयोग भएका कतिपय भाषाका सम्बन्धमा अरू स्पष्ट हुनुपर्ने भएकाले एनेकपा (माओवादी) सँग बसेर छलफल गरी साझा सहमति गर्नुपर्ने निर्णय पनि गरेको छ।
साथै छिट्टै नै सरकारलाई पूर्णता प्रदान गर्नका लागि एनेकपा (माओवादी) लगायत संविधानसभामा रहेका अन्य राजनैतिक दलसँगसमेत छलफल अगाडि बढाउने निर्णय पनि बैठकले गरेको छ। रासस