पाँच अधिकृतसहित एलडिओ भ्रमणमा जिविसको गए पछी दुई साता अघीदेखी जिवीसको काम ठप्प

दुई साताअघिदेखि जिल्ला विकास समिति मुगुको सम्पूर्ण काम-कारबाही ठप्प भएको छ । स्थानीय विकास अधिकारीसहित पाँचजना अधिकृतस्तरका कर्मचारी राजनीतिक दलका नेताहरूलाई लिएर भ्रमणमा निस्किएपछि जिविसको सबै काम ठप्प भएको हो । जिल्लाका प्रमुख राजनीतिक दलका नेतालाई लिएर स्थानीय विकास अधिकारी र पाँचजना अधिकृतस्तरका कर्मचारी गत १५ माघदेखि पाल्पा भ्रमणमा गएका छन् । विकेन्दि्त ग्रामीण विकास पूर्वाधार सुधार तथा जीविकोपार्जन कार्यक्रमको सहयोगमा जिविस मुगुले दलका नेताहरूलाई स्थानीय विकास मन्त्रालयको कार्यसम्पादन मूल्यांकनका आधारमा प्रथम भएका पाल्पा जिल्ला घुमाउन लगेका हुन् ।


स्थानीय विकास अधिकारी ईश्वरराज पौडेल, इन्जिनियर सन्तोषराज पन्थी, इन्जिनियर ईश्वरचन्द्र मरहठ्ठा, लेखापाल नवराज भण्डारी र जिन्सी शाखाप्रमुख खड्गराज मल्ललगायतका अधिकृत भ्रमणमा गएपछि सानातिना सिफारिसका काम र बिदा स्वीकृत गर्ने कामबाहेक अरू केही नभएको निमित्त स्थानीय विकास अधिकारी प्रेम बुढाले बताए । जिविसले भ्रमणदलमा जनमुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललगायतका केही साना दललाई भ्रमणमा सहभागी गराइएको छैन । ती दलले जिविसले विभेद गरेको भन्दै आपत्ति जनाएको छ । साना दललाई सहभागी नगराए विभेद गरेको जनमुक्ति पार्टीका मुगु जिल्ला अध्यक्ष प्रेमबहादुर मल्लले बताए ।