कांग्रेस भ्रातृ संगठन तरुण दलले आफ्नो चौथो केन्द्रीय महाधिवेशन आगामी जेठ १५ देखि २० भित्र गर्न प्रस्ताव

काठमाडौं  – काठमाडौंबाट प्राप्त खबर अनुसार  कांग्रेस भ्रातृ संगठन तरुण दलले आफ्नो चौथो केन्द्रीय महाधिवेशन आगामी जेठ १५ देखि २० भित्र गर्न प्रस्ताव गरेको छ । दलको केन्द्रीय समितिको बुधबार सम्पन्न बैठकले महाधिवेशनका लागि उक्त मिति प्रस्ताव गरी पार्टी केन्द्रीय कार्यसमितिसँग स्वीकृति माग्ने निर्णय गरेको छ । पार्टीले स्वीकृति दिएपछि जिल्लादेखि केन्द्र महाधिवेशनको कार्यक्रम र तिथि तय गरिने जानकारी तरुण दलका प्रचार सचिव सुदर्शन आचार्यले दिए ।

कांग्रेस एकीकरण भएको तीन वर्ष भइसक्ता पनि एकीकृत तरुण दलको महाधिवेशन हुन सकेको छैन । पार्टी एकता भए पनि तरुण दलको केन्द्रदेखि जिल्लासम्म संगठन एकीकृत हुन नसकेकाले छिटो महाधिवेशन हुनुपर्ने माग हुँदै आएको छ । 

यसैबीच दलले एमाले र माओवादीबीच भएको सातबुँदे समझदारीलाई लोकतन्त्रविरुद्ध षड्यन्त्रको संज्ञा दिएको छ । उक्त समझदारीविरुद्ध सशक्त ढंगले उभिने निर्णयसमेत दलले गरेको छ । दलले पार्टी प्रतिपक्षमा बस्ने निर्णयको स्वागतसमेत गरेको छ ।