एमालेका तीन मन्त्रीले आज सपथ लिने/अधिकारी उपप्रधान तथा पौडेल र तुलाधर विनाविभागीय मन्त्री

प्रधानमन्त्री झलनाथ खनालले विहीबार एमालेका तीनजना मन्त्रीहरुलाई समेटेर मन्त्रिमण्डल विस्तार गर्नुहुने भएको छ । मन्त्रालय बाँडफाँटमा एकीकृत नेकपा माओवादीसँग सहमति हुन नसकेपछि प्रधानमन्त्री खनालले एमालेका मन्त्रीहरुलाई मात्र सहभागि गराएर मन्त्रिमण्डल बिस्तार गर्न लाग्नु भएको हो ।


एमाले नेता भारतमोहन अधिकारीले उपप्रधानमन्त्री तथा सचिव विष्णु पौडेल र पोलिटव्युरो सदस्य गंगालाल तुलाधरले विनाविभागिय मन्त्रीको रुपमा सपथ लिनुहुने एमाले सचिव शंकर पोख्रेलले जानकारी दिनुभयो ।


एमालेले तीनै जनालाई मन्त्रालय तोकेर मन्त्रीमा सिफारिस गरेपनि माओवादीले आपत्ति जनाएको थियो । एमालेले अधिकारीलाई उपप्रधान तथा अर्थ, पौडेललाई गृह र तुलाधरलाई शिक्षामन्त्रीमा सिफारिस गरेको थियो ।


मन्त्रिमण्डल विस्तार गरेपछि प्रधानमन्त्री खनालले अपरान्ह तीन बजे व्यवस्थापिका संसदमा संबोधन गर्ने कार्यक्रम छ।