मन्त्रीमण्डल विस्तारमा माओवादीसँग सहमति जुटाउन असफल एमालेद्वारा आफ्ना तीन मन्त्रीलाई सपथ

– मन्त्रीमण्डल विस्तारमा माओवादीसँग सहमति जुटाउन असफल एमालेले आफ्ना तीन मन्त्रीलाई बिहीबार सपथ खुवाएको छ ।

 

काठमाडौ – पछिल्लो प्राप्त समाचार अनुसार मन्त्रालय बाँडफाँटमा एमाले र माओवादीबीच कुरा नमिलेको बेला प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मन्त्रालय नतोकी एमालेका तीन जनाले सपथ लिएका छन् । एमालेबाट भरतमोहन अधिकारीले उपप्रधानमन्त्री,विष्णु पौडेल र गंगालाल तुलाधरले बिना विभागीय मन्त्रीका रुपमा सपथ लिएका हुन् ।

 

राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच प्रधानमन्त्रीले नयाँ मन्त्रीहरुलाई सपथ गराएका छन् । यसअघि एमाले स्थायी समितिले अधिकारीलाई उपप्रधान सहित अर्थ,पौडेललाई गृह र तुलाधरलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको थियो ।

 

गृह मन्त्रालयमा माओवादीले आफ्नो अडान नछाडेपछि दुई दलबीच कुरा मिल्न सकेको छैन । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दुई दलका शीर्ष नेताबीच बसेको बैठकमा कुरा नमिलेपछि माओवादीले सरकारमा सहभागी नहुने जनाएको छ । सपथ ग्रहण समारोहमा माओवादी अनुपस्थित रहेको थियो ।

यसैबीच,प्रधानमन्त्री खनालले अपरान्ह ३ बजे व्यवस्थापिका संसदमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।