काठमाडौं – राजधानी काठमाडौंबाट प्रसारण हुने नेपाली टिभीहरुले समाचारमा जनाए अनुसार एमाले नेता केपी शर्मा ओलीले आफ्ना अध्यक्ष झलनाथ खनाललाई झुक्याएर माओवादीले सात बुँदे सहमति गरेको आरोप लगाएका छन् ।
इन्सेकद्वारा प्रकाशित मानवअधिकार पुस्तकको शनिबार राजधानीमा विमोचन गर्दै नेता ओलीले झुक्याएर गरिएको सात बुँदे सहमतिको कुनै अर्थ नरहेको बताए । प्रधानमन्त्रीको लोभ देखाएर पार्टी नेतृत्वलाई झुक्याउन माओवादी सफल भएको बताए । माओवादी केही दिनमै सरकारमा आउने दाबी गर्दै नेता ओलीले गृह मन्त्रालय कुनै पनि हालतमा उसलाई दिन नसकिने बताए ।
कार्यक्रममा माओवादी प्रवक्ता दीनानाथ शर्माले आफूहरुले व्यक्ति विशेषलाई प्रधानमन्त्री नबनाइएको बताउँदै विवाद टुंग्याएर सरकारलाई पूर्णता दिन पहल गर्न एमालेलाई आग्रह गरे ।



