काठमाडौ – काठमाडौबाट प्राप्त समाचार अनुसार प्रधानमन्त्री झलनाथ खनालसहित माओवादी र एमालेका शीर्ष नेताहरु सात बुँदे सहमति सच्याउन सहमत भएका छन्। एमालेको पोलिटब्यूरो बैठक हुनुअघि दुई दलका शीर्ष नेताहरुले प्रधानमन्त्री कार्यालयमा छलफल गरेका थिए ।
प्रधानमन्त्री कार्यालय सिंहदरवारमा भएको दुई दलका नेताहरुको बैठकमा यसअघि प्रधानमन्त्री चुनाव हुनुअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष झलनाथ खनालबीच भएको सहमितको समिक्षा गरेको थियो ।
‘सात बुँदे समहतिलाई सच्याउने कुरामा दुवै दलको सहमति भयो’ एमाले नेता केपी ओलीले सञ्चारकर्मीलाई बैठक पछि भने ।
एमालेका नेताहरु ओली र माधवकुमार नेपाल पक्षले सहमितलाई कार्यन्वयन गर्न नसिकने भन्दै सच्याउन माग गर्दै आएका थिए ।
उक्त सहमतिको पालना नभएको भन्दै प्रधानमन्त्रीको निर्वाचनमा एमाले अध्यक्ष झलनाथ खनाललाई मत हाले पनि अझै माओवादी सरकारमा सहभागी भएको छैन ।
माओवादीले सहमति अनुसार गृह मन्त्रालय आफुले पाउनु पर्ने अडान राख्दै आएको छभने एमालेका ओली र नेपाल पक्षको विरोधका कारणा प्रधानमन्त्री खनालले निर्णय लिन सकेका छैनन् ।
बैठकमा प्रधानमन्त्री खनाल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, ओलीलगायत नेता सहभागी थिए ।



