पाँच वर्षयता ५० प्रतिशतसम्म कमाएका वाणिज्य बैंकहरुको चालु आवको ६ महिनामा ४ प्रतिशतले नाफा घट्यो

– सुदर्शन सापकोटा, नागरिक

 

काठमाडौं  – पाँच वर्षयता ५० प्रतिशतसम्म कमाएका वाणिज्य बैंकहरुको चालु आवको ६ महिनामा भने ४ प्रतिशत नाफा घटेको छ। गत वर्षको पहिलो ६ महिना (पुससम्म) मा वाणिज्य बैंकहरुले ७ अर्ब ४९ करोड नाफा गरेका थिए। यसपाली यस्तो नाफा ७ अर्ब २० करोड रुपैयाँमा सीमित भएको छ। यो ३ दशमलव ९२ प्रतिशत हो।

 

तरलता (लगानीयोग्य पुँजी) अभावले कर्जा खुम्चनु, आर्थिक क्रियाकलाप घटेर जानु र लगानीका लागि आकर्षक क्षेत्र रियलस्टेट तथा सेयरमा कर्जा सीमाका कारण बैंकको नाफा घटेको हो।


वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०६३/६४ को पहिलो छ महिनामा ३५ प्रतिशत नाफा गरेका बैंकले २०६४/६५ मा नाफा ५०.८१ प्रतिशत गरेको थियो। त्यसपछि १६.१४ प्रतिशतमा नाफा सीमित भयो। ‘तरलता अभावले पुँजी लागत बढ्नु, निक्षेप र कर्जाको ब्याजदरबीचको फरक (स्प्रेड दर) कम हुँदै जानु, लगानीको वातावरण नहुनुजस्ता कारणले नाफामा असर परेको छ,’ डिसिबिएल बैंकका प्रमुख कार्यकारी अधिकृत सुधीर खत्रीले आइतबार नागरिकसँग भने, ‘यसपालिको नाफा बैंकहरुको कार्यक्षमता राम्रो भएकाले मात्र भएको हो। नत्र यो पनि हुँदैन थियो।’


चालु वर्ष ८ बैंकको नाफा घटेको छ। सबैभन्दा बढी नाफा माछापुच्छे्र बैंकको घटेको छ। बैंकको नाफा करिब ९७ प्रतिशतले घटेर ३४ लाख रुपैयाँमा सीमित भएको छ। गत वर्षको यसै अवधिमा बैंकले १० करोड ३९ लाख रुपैयाँ नाफा गरेको थियो। यस्तै नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंकको नाफा ६९ प्रतिशतले घटेको छ। बैंकले यो वर्ष ९ करोड २३ लाख नाफा कमाएको छ।


नेपाल बंगलादेश बैंक (एनबी) को नाफा ५७ प्रतिशत, सनराइज्को ३६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको २७ प्रतिशत, कुमारीको २५ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्डको १६ प्रतिशत र लुम्बिनीको १५ प्रतिशतले घटेको छ। गत वर्ष पनि पाँच बैंकको नाफा घटेको थियो।
प्रतिकुल वातावरण भए पनि ग्लोबल बैंकले ४ सय ६७ प्रतिशतको वृद्धि हासिल गरेको छ। बैंकले चालु वर्ष १३ करोड २४ लाख रुपैयाँ नाफा गरेको छ। यस्तै एनएमबी बैंकले १०८ प्रतिशतको वृद्धि हासिल गर्दै १२ करोड नाफा गरेको छ। किस्टले पनि १०६ प्रतिशतको वृद्धि हासिल गर्दै नाफा ८ करोड २६ लाख रुपैयाँ कमाएको छ।


प्राथमिक पुँजी (जगेडा कोष र चुक्ता पुँजीको योग) का आधारमा पनि ३० वाणिज्य बैंकमध्ये जम्मा १० ले मात्र दोहोरो अंकको प्रतिफल हासिल गरेका छन्। सबैभन्दा बढी नबिल बैंकले १४.७७ प्रतिशत प्रतिफल हासिल गरेको छ। एभरेस्ट र बैंक अफ काठमाडौंले १३ प्रतिशतको हाराहारीमा, लुम्बिनी, नेपाल इन्भेस्टमेन्ट र एनआइसी बैंकले १२ प्रतिशतको हाराहारीमा, एनबी र हिमालयन बैंकले ११ को र स्ट्यान्डर्ड चार्टर्ड र प्राइम कमर्सियलले १० प्रतिशतको हाराहारीमा प्रतिफल हासिल गरेका छन्।


‘राष्ट्र बैंकको नीतिपछि बैंकहरुको पुँजीसँगै जगेडा कोष बढेको छ,’ खत्रीले भने, ‘तर त्यो अनुपातमा नाफा गर्नसक्ने अवस्था छैन।’ उनका अनुसार निक्षेपको ब्याज दर अनुपातमा कर्जाको नबढेको, कर्जा-निक्षेप अनुपात, २० प्रतिशत तरलता व्यवस्थापन, एक बैंकले अर्को बैंकमा ब्याज आउने खातामा पैसा राख्न नपाउने व्यवस्था, साढे पाँच प्रतिशत अनिवार्य तरलता अनुपात कायम गर्नुपर्ने जस्ता कारणले प्राथमिक पुँजीको निकै कम मात्र नाफा हुन सकेको छ।


अन्य बैंकको प्रतिफल १० प्रतिशतभन्दा कम छ। यसमध्ये पनि राष्ट्रिय वाणिज्य र नेपाल बैंकको प्रतिफल ऋणात्मक छ। दुई बैंकको प्रतिफल क्रमशः ९.०८ र ९.२१ प्रतिशतले ऋणात्मक छ। माछापुच्छे्रसहित नयाँ आएका बैंकहरु मेगा, कमर्ज एन्ड ट्रस्ट, सिभिल, जनताको प्रतिफल १ प्रतिशतभन्दा पनि कम छ।


वाणिज्य बैंकहरुको नाफा
करोड रुपैयाँमा (६ महिना)
आर्थिक वर्ष नाफा वृद्धिदर (प्रतिशत)
२०६३/६४ ३१७.४४ ४०.५९
२०६४/६५ ४२७.१२ ३४.५५
२०६५/६६ ६४४.१७ ५०.८१
२०६६/६७ ७४९.४७ १६.३४
२०६७/६८ ७२०.०७ -३.९२