एमाले केपी शर्मा ओलीले शान्ति प्रक्रियाको पूर्णताको निम्ति माओवादीलाई कुनैपनि हालतमा गृह मन्त्रालय दिन नहुने विचार व्यक्त

धादिङ  – धादिङबाट प्राप्त समाचार अनुसार सात्तधारी दल एमालेका नेता केपी ओलीले माओवादीलाई कुनै पनि हालतमा गृह मन्त्रालय नदिइने बताएका छन् । उनले गृहमन्त्री बिष्णु पौडेल हुनेपनि ठोकुवा गरे । 

नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) धादिङको प्रथम जिल्ला अधिबेशनको नौविसेमा शनिबार उद्‌घाटन गर्दै उनले भने, ‘माओवादीको हत्या हिंसाको श्रृखंला नरोकिंदासम्म माओवादीलाई सुरक्षा सम्बन्धी मन्त्रालय दिइन्न ।’

उनले अझै पनि जनताका घरजग्गा कब्जा गर्ने, मारकाट मच्चाउने पार्टीलाईज् गृह मन्त्रालय दियो भने के हुन्छ ? भनी प्रश्नपनि गरे । धादिङका एमाले कार्यकर्ता शिव थापा मगरको हत्या प्रकरणको बारेमा पटक पटक बोलेका ओलीले हत्या हिंसाको राजनीति त्याग्न माओवादीलाई आग्रह पनि गरे ।

अर्को एक प्रसंगमा नेता ओलीले माओवादीले हत्या हिंसाको बाटो त्यागेर सही बाटो लिएको अवस्थामा आफुले जोर बत्ति बालेर स्वागत गर्ने समेत बताए ।

ओलीले आफुले बोल्दा माओवादीको विरोध गर्‍यो भन्नेहरुको बुझाई गलत भएको पनि दावी गरे । उनले एमालेको निर्णयमा फेरबदल नहुने पनि स्पष्ट पारे । उनले भने, ‘गृहमन्त्रीमा विष्णु पौडेल र शिक्षा मन्त्रीमा गंगालाल तुलाधरलाई नै राखिने छ ।’

अधिवेशनमा विनाविभागीय मन्त्री एवं सरकारका प्रबक्ता गंगालाल तुलाधर, पूर्व मन्त्री एवं एमालेका पोलिटव्यूरो सदस्य राजेन्द्र पाण्डे, डा. पुष्प कँडेललगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु एवं जिफण्टका सदस्यहरुको सहभागिता रहेको थियो । जिफण्ट धादिङका अध्यक्ष सुरेश आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा हास्य कलाकार मनोज गजुरेल, लोकगायक बद्री पंगेनी, शिला आले, रुविन गर्न्धर्व लगायतका कलाकारहरुले विभिन्न चेतनामुलक गित तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । अधिवेशनले जिफण्ट धादिङको नयां नेतृत्वको चयन गर्नेछ ।