
काठमाडौं – काठमाडौंबाट प्राप्त समाचार अनुसार विशेष अदालतले माग गरेको रकम बुझाउन नसकेपछि नेपाल वायुसेवा निगमका अध्यक्ष सुगतरत्न कंसाकारलाई कारागार चलान गरिएको छ ।
विशेष अदालतले विमान खरिदमा अनियमितता गरेको ठहर गर्दै आइतबार निगम अध्यक्ष कंसाकारसँग ६ करोड धरौटी माग गरेको थियो । अध्यक्ष न्यायाधीश गौरीबहादुर कार्की तथा ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेले आइतबार कंसाकारसँग ६ करोड धरौटी माग गर्ने आदेश दिएका हुन् ।

विमान खरिदका लागि एयर बस कम्पनीलाई बैना दिएको भन्दै कंसाकारविरुद्ध मुद्दा दायर भएको थियो । निगम सञ्चालक समितिको निर्देशनविपरीत आफूखुशी बैना बुझाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।
यसैबीच आइतबार विज्ञप्ती जारी गर्दै नेवाः जागरण मञ्चले विशेष अदालतको निर्णयप्रति आपत्ति जनाएको छ ।





