काठमाडौं – काठमाडौँबाट प्राप्त समाचार अनुसार यूरोपेली जहाज निर्माता कम्पनी एयरबसले विमान खरिदका लागि दिएको बैना रकम शुक्रबार फिर्ता गरेको छ ।
समाचार अनुसार एयरबसले हिमालय बैंकको चल्ती खाता नम्वर ००३००४०६३३००४८ मा सवा तीन बजे बैना रकम बापतको ७ लाख ४९ हजार ९ सय ९२ अमेरिकी डलर फिर्ता गरेको वायु सेवा निगम कर्मचारी संघका अध्यक्ष तारणिराज दाहालले जानकारी दिए ।
जहाज खरिदका लागि रकमको व्यवस्था नहुँदै निगमका निलम्बित अध्यक्ष सुगतरत्न कंसाकारले यूरोपेली जहाज निर्माता कम्पनी एयरबसलाई बैना रकम पठाएका थिए । निगमको जहाज खरिद गर्न सञ्चालक समितिको निर्णय र बजेट व्यवस्था नगरी करिव १० अर्ब रुपैयाँका दुई जहाजका लागि बैना बापत एयरबसलाई ५ करोड ७३ लाख ७५ रुपैयाँ बैना पठाएर भ्रष्टाचार गरेको आरोपमा उनलाई धरौटी माग गरिएको थियो ।
धरौटी राख्न नसकेपछि कंसाकारलाई जेल चलान गरिएको छ । जेल चलान गरिएका कंसाकार बिरामी भएपछि अहिले अस्पतालमा उपचाररत छन् ।
निगमले जहाज किन्ने निर्णय नगरेको र जहाज खरिदका लागि रकमको व्यवस्था नहुँदै एयरबसलाई बैना पठाएकामा अख्तियारले कंसाकारविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।
निगम कर्मचारी संघका अध्यक्ष दाहालले बैना रकम फिर्ता भएको अवस्थामा सरकारले मुद्दा फिर्ता लिएर वायु सेवा निगमलाई धारासायी हुन नदिने तुरुन्तै विमान खरिदका लागि पहल गर्नुपर्ने बताए । ‘यस विषय -कंसाकारविरुद्धको मुद्दा)मा सम्मानित अदालतको फैसलामा त हामीले केही बोल्नै मिल्दैन,’ दाहालले भने, ‘सरकारवादी मुद्दा भएकाले फिर्ता लिएर नयाँ बाटो रोज्नु नै उचित हुन्छ ।’
कंसाकार छुटे
यसैबीच नेपाल वायु सेवा निगमका निलम्बित अध्यक्ष सुगतरत्न कंसाकार पनि शुक्रबार नै धरौटी रकम बुझाएर छुटेका छन् । प्राइम कमर्सियल बैंकले ६ करोड रुपैयाँको बैंक ग्यारेन्टी दिएपछि उनी छुटेका हुन् । विशेष अदालतको आदेशअनुसार ६ करोड रुपैयाँ धरौटी राख्न नसकेपछि कंसाकारलाई आइतबार जेल चलान गरिएको थियो ।
निगमले जहाज किन्ने निर्णय नगरेको र जहाज खरिदका लागि रकमको व्यवस्था नहुँदै युरोपेली जहाज निर्माता एयरबसलाई बैना पठाएकामा अख्तियारले कंसाकारविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।
विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यद्वय ओमप्रकाश मिश्र तथा केदारप्रसाद चालिसेको इजलासले विमान किन्ने कुनै ठोस निर्णय नगरेको र बैना फिर्ता हुनेसमेत नदेखिएको भन्दै धरौटी रकम बुझाए तारेखमा राख्न र नबुझाए थुनामा पठाउन आदेश दिएको थियो । आदेशलगत्तै कंसाकारले धरौटी रकम जोहो गर्न निकै प्रयास गरेका थिए । साँझसम्म रकम जुटाउन नसकेपछि उनलाई डिल्लीबजार खोर पठाइएको हो ।



