ललितपुरको ठैब बाँडेगाउँस्थित सरकारी स्वामित्वमा रहेको भट्टराई आश्रमलाई सङ्ग्राहलयसँगै अध्यात्मिक स्थल बनाउने तयारी

ललितपुर – ललितपुरको ठैब बाँडेगाउँस्थित सरकारी स्वामित्वमा रहेको भट्टराई आश्रमलाई सङ्ग्राहलयसँगै अध्यात्मिक स्थल बनाउने तयारी भएको छ। सन्त नेता स्वर्गीय कृष्णप्रसाद भट्टराई बस्दै आएको आश्रम उनको निधनसँगै अध्यात्मिक चिन्तन स्थलको रुपमा विस्तार गर्न लागिएको हो।

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारको समयमा ट्रस्टमार्फत आश्रमलाई कृष्णप्रसाद भट्टराई प्रतिष्ठानको रुपमा नामाकरण गरिएको थियो। प्रतिष्ठानका अध्यक्ष पीएल सिंहले ट्रस्टको रुपमा रहेको प्रतिष्ठानलाई भट्टराईको देहावसानपछि उनको दर्शन र चिन्तनलाई मार्गदर्शन हुने गरी अध्यात्मक चिन्तन स्थलको रुपमा विकसित गर्दै लैजाने बताए।


स्वर्गीय भट्टराईले जीवनमा देखाउनुभएको सत्मार्गलाई साकार पार्न उनको दृष्टिकोणअनुसार काम गर्ने तयारीमा प्रतिष्ठान लागेको उनले बताए। स्वर्गीय भट्टराईका सहयोगी एवम् पूर्व पर्यटनमन्त्री शरत्सिंह भण्डारीले भट्टराई आश्रमलाई पवित्र अध्यात्मक चिन्तनस्थलको रुपमा स्थापित गर्न पहल भइरहेको बताए।


उनले भट्टराईको १३ दिने काजक्रिया सकिएपछि प्रतिष्ठानसहित अन्य सरोकारवाला निकायसँग छलफल गरेर आश्रमलाई सङ्ग्रहालय र स्मारकको रुपमा विस्तार गरिनेछ भने। सहयोगी भण्डारीले स्वर्गीय भट्टराईको अस्तुलाई आश्रममा विसर्जन गरी पवित्र समाधिस्थलको रुपमा विस्तार गर्ने लक्ष रहेको पनि बताए।


तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा उपलब्ध गराइएको ठैव-३ बाडेगाउँस्थित सरकारी आश्रममा विगत चार वर्षदेखि सन्त नेता स्वर्गीय भट्टराई बस्दै आएका थिए। -रासस