माओवादीले सातबुँदे सहमतिका आधारमा न्यूनतम साझा कार्यक्रम बनाउने

काठमाडौं – प्राप्त समाचार  अनुसार  माओवादीले सातबुँदे सहमतिका आधारमा न्यूनतम साझा कार्यक्रम बनाउने बताएको छ । सरकारमा सहभागी हुनुअघि न्यूनतम साझा कार्यक्रम बनाउन एमालेसँग छलफल भए पनि छिट्टै अन्तिम रूप दिने उसको भनाइ छ ।

सातबुँदे सहमतिबाट बनेको हुनाले त्यसकै आधारमा सरकार बन्ने प्रवक्ता दीनानाथ शर्माले बताए । ‘सातबुँदे सहमतिका आधारमा सरकारको न्यूनतम साझा कार्यक्रम तयार हुन्छ,’ उनले भने, ‘यसलाई अन्मित रूप दिन छलफल हुन्छ ।’

एमालेका बिनाविभागीय मन्त्रीले जिम्मेवारी पाएपछि न्यूनतम साझा कार्यक्रम बनाउने दुई पार्टीबीच सहमति भएको थियो । प्रधानमन्त्री झलनाथ खनालले बिनाविभागीय मन्त्रीहरू विष्णु पौडेललाई रक्षा र गंगालाल तुलाधरलाई शिक्षा मन्त्रीको जिम्मेवारी दिएपछि न्यूनतम साझा कार्यक्रमबारे छलफल हुने छ । सातबुँदे सहमतिमा लडाकुको छुट्टै वा मिश्रति फोर्स बनाउनेलगायत कुरा समेटिएको छ ।

त्यस्तै माओवादीले आफ्नो मन्त्रीहरूलाई जनताले तत्काल महसुस गर्ने गरी काम गर्न निर्देशन दिएको छ । अध्यक्ष पुष्पकमल दाहालले माओवादीको भागमा परेका सूचना तथा सञ्चार, शान्ति तथा पुनर्निर्माण, भौतिक योजना तथा निर्माण र पयर्टन मन्त्रालयबाट हुने काम प्रभावकारी रूपमा गर्न निर्देशन दिएका हुन् । भौतिक योजनामन्त्री टोपबहादुर रायमाझीले जनताले महसुस गर्ने काम गर्न पार्टीको निर्देशन भएको बताए । ‘जनताले महसुस गर्ने गरी काम गर्न निर्देशन भएको छ,’ उनले भने ।