
माओवादीले अब सात मन्त्री र ११ राज्यमन्त्री पठाउने तयारी गरेकामा करिब सय जनाको सूची छ । तीमध्ये यसअघि मन्त्री नभएका, अन्य राज्य वा पार्टीको उपयुक्त जिम्मेवारी नपाएका व्यक्तिलाई सरकारमा पठाउन अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टराईमाथि दबाब परेको हो ।
यसअघि स्थायी समितिले सरकारमा पठाउन तय गरेका स्थायी समिति सदस्य गिरिराजमणि पोख्रेलको नाममा विवाद भएपछि निर्णय हुन सकेन । अर्का स्थायी समिति सदस्य अमिक शेरचनले नयाँ व्यक्ति पठाउन उपयुक्त हुने धारणा राखेपछि पोख्रेलबारे निर्णय हुन नसकेको एक नेताले बताए । पूर्वस्वास्थ्यमन्त्री पोख्रेललाई पुनः त्यही जिम्मेवारीमा पठाउने तयारी थियो ।
शेरचनले मन्त्रिपरिषद् विस्तार गर्दा नयाँलाई पठाउन उपयुक्त हुने बताए । ‘नयाँ साथीहरूलाई सरकारमा पठाउन उपयुक्त हुन्छ,’ उनले भने, ‘त्यसबारे पार्टीमा छलफल भइरहेको छ ।’
माओवादीले सभासद वा चुनावमा नउठेका नेतालाई पठाउने अनौपचारिक निर्णय गरेको थियो । नेतृत्वसँग पहुँच भएका नेताले बारम्बार अवसर लिन थालेपछि केही नेताले अध्यक्ष दाहाललाई भेटी ‘युद्धमा गरेको त्यागको परिभाषा’ दिन भनेका थिए । ‘युद्धमा त्यागको कदर भएको खै ?’ उनीहरूको प्रश्न थियो, ‘कसैलाई दूध र भात, कसैको पुर्परोमा हात ? समानताको कुरा गर्ने कम्युनिस्ट पार्टीमा यो कसरी हुन्छ ?’
माओवादीले उपप्रधान तथा सञ्चारमन्त्रीमा कृष्णबहादुर महरा, शान्ति तथा पुनर्निर्माणमा वर्षमान पुन, भौतिक योजना तथा निर्माणमा टोपबहादुर रायमाझी र पर्यटन तथा नागरिक उड्डयनमा खड्गबहादुर विश्वकर्मालाई पठाएको थियो ।
पार्टी सहभागी भएका यसअघिका तीन सरकारमा महरा मन्त्री भइसकेका छन् । उनको संयोजनकारी भूमिका भएकाले सरकारमा पठाएको माओवादीको तर्क छ । विश्वकर्मा पनि यसअघि मन्त्री भइसकेका हुन् । रायमाझी र पुन पहिलो पटक मन्त्री बनेका हुन् ।
अबको मन्त्रिपरिषद् विस्तारमा विवादका बीच पनि स्थायी समिति सदस्यद्वय देव गुरुङ र गिरिराजमणि पोख्रेललाई सहभागी गराउने मनस्थितिमा माओवादी छ । बाँकीमा महिला, मधेसीलगायत समावेशी ढंगले चयन गर्न खोजिएको छ । असन्तुष्ट पक्षले समावेशी हिसाबले छुटाउन नहुनेबाहेक नयाँलाई सरकारमा पठाउन दबाब दिएका छन् ।
संगठन र आन्दोलनको काम गर्न सरकारमा गइनँ : नेत्रविक्रम चन्द
प्राप्त समाचार अनुसार पार्टीले मन्त्री बनाउन खोजे पनि संगठन र आन्दोलनको काम गर्न आफू सरकारमा नगएको माओवादीका स्थायी समिति सदस्य नेत्रविक्रम चन्दले बताएका छन् । ‘पार्टी संगठन र आन्दोलनको काम गर्नु अहिलेको आवश्यकता हो,’ उनले भने, ‘त्यसकारण सरकारमा गइनँ ।’ उनले विशिष्ट राजनीतिक परिस्थिति भएकाले केही नेता सरकारमा जानु उपयुक्त हुने र केही बाहिर बसेर आन्दोलन गर्ने निर्णय भएको पनि जनाए ।
‘केही नेता बाहिर बसेर आन्दोलन गर्ने भन्ने छ,’ उनले भने, ‘पार्टी सुधार गर्नुपर्ने, संगठित गर्ने काम भएकाले म सरकारमा नजानुको अर्को कारण हो ।’ पछिल्लो समयमा चन्दले ‘जनस्वयंसेवक परिचालन ब्युरो’ को संयोजकको जिम्मेवारी पाएका छन् ।
‘अर्को कुरा युवा परिचालनको जिम्मा मैले पाएको छु,’ उनले भने, ‘धेरै कारणले सरकारमा जानुभन्दा नजानु उपुक्त हुन्छ भन्ने ठानें ।’ माओवादीमा शान्तिमन्त्री वर्षमान पुन र चन्द छिटो प्रगति गरेका नेतामा पर्छन् । पुन दाहाल र चन्द वैद्यका भरपर्दा नेता हुन् ।



