काठमाडौँ – व्यवस्थापिका-संसदमा मन्त्रीहरुको उपस्थिति नभएको विषयलाई लिएर सभासद्हरुबाट आएको गुनासोलाई मध्यनजर गरी अबदेखि दुई मन्त्रीलाई अनिवार्य उपस्थित हुन मन्त्रिपरिषद्ले निर्देशन दिएको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले संसद चलेका दिन संसद नै अवरुद्ध हुने स्थिति आएकोले दुईजना मन्त्रीको अनिवार्य उपस्थिति हुनुपर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद् बैठकले लिवियामा जारी आन्दोलनका कारण बिलखबन्दमा परेका नेपाली कामदारहरुको सकुशल नेपाल फिर्तीका लागि भइरहेको प्रयासलाई अझ प्रभावकारी बनाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री गङ्गालाल तुलाधरले जानकारी दिए।
नेपाली कामदारको फिर्तीका लागि इजिप्टको कायरोस्थित नेपाल दूतावासमार्फत काम भइरहेको र हालसम्म एकहजार ५६२ जनालाई नेपाल फर्काइसकेको जानकारी दिँदै प्रवक्ता तुलाधरले बाँकी रहेका नेपाली कामदारलाई चाँडोभन्दा चाँडो नेपाल फिर्तीका लागि उपयुक्त वातावरण निर्माण गरिने बताउए।
लिवियामा अलपत्र परेका ५२२ जनालाई चीन सरकारले उद्धार गरी काठमाडौँ ल्याएको जानकारी पनि मन्त्री तुलाधरले दिए। बाँकी अलपत्र नेपाली कामदारलाई सकुशल फिर्ता गर्न इजिप्टको कायरो र कतारस्थित दूतावासमार्फत पहल भइरहेको जनाइएको छ।
उनले अन्तरनिकाय समन्वय समिति गठन गरी सुरक्षित स्थानमा ल्याउने र उनीहरुको यातायात, खाना, बस्नका लागि कायरोस्थित दूतावासमार्फत पहल गर्ने उल्लेख गरे।
आजको बैठकले जापानले दिने तयारी गरेको रु ८७ करोड बराबरको खाद्यान्न अनुदान स्वीकार गर्ने निर्णय गरेको उनले जानकारी दिए।- रासस








