माओवादीमा अध्यक्ष पुष्पकमल दाहाल पक्षद्वारा उपाध्यक्ष बाबुराम भट्टराईलाई प्रमुख अतिथि हुनबाट रोक्ने प्रयास

– कृष्ण आचार्य

 

गोरखा – स्थानिय गोर्खाका संचारमाध्यमहरुले उल्लेख गरे अनुसार गोरखाको आज आइतबार हुने जिल्ला विकास परिषद्मा अध्यक्ष पुष्पकमल दाहाल पक्षले उपाध्यक्ष बाबुराम भट्टराईलाई प्रमुख अतिथि हुनबाट रोक्ने प्रयास गरेका छन् । दाहाल पक्षले अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई प्रमुख अतिथि बनाउने निर्णय गरी भट्टराईलाई अतिथिमात्र बनाउने निर्णय गरे पनि भट्टराईका जिल्ला नेताले त्यसो गरे परिषद् रोक्ने बताएपछि पूर्व निर्णय सच्याएको छ ।

जिल्ला नेतृत्वको दुई दिनअघि बसेको जिविस राजनितिक संयन्त्रको बैठकले माओवादी उपाध्यक्ष श्रेष्ठलाई ल्याउने निर्णय गरेको थियो । माओवादी नेतृत्वले तल्लो स्तरका कार्यकर्ताको दबाबपछि जिविस निर्णय पुस्तिकामा टिपेक्स लगाई श्रेष्ठको ठाउँमा भट्टराईको नाम लेखी परिषदेको प्रमुख अतिथि बनाउन लागेको हो । राजनीतिक संयन्त्रको बैठकका दाहाल पक्षले भट्टराईलाई ल्याउनु हुन्न भन्ने प्रस्ताब अघि सारेको थियो ।

‘प्रत्यक्षबाट जितेका त्यसमा पनि सिनियर नेतालाई वाईपास गरेर अर्को नेता ल्याउन पाईनैन भनेका हौ’ भट्टराई निकट स्थानीय नेता यानप्रसाद भट्टले भने, ‘गत साल बाबुराम प्रमुख अतिथि भएकाले यस बर्ष नारायणकाजीलाई अगाडि सारेको भन्ने उनीहरुको भनाई छ । यो तर्क न्यायसंगत भएन भनेर हामी मानेनौ ।’

जिविसको परिषदका लागि शुरुको चरणमा तीन राजनीतिक दलबीच बिबाद भएतापनि चक्रिय प्रणाली अनुसार यस बर्ष माओवादी नेतालाई प्रमुख अतिथि बनाउने पालो परेको हो । अउँदो बर्ष एमाले र अर्को बर्ष कांग्रेसको पालो छ । माओवादी जिल्ला ईन्चार्ज कृष्ण धिताल, सेक्रेटरी चुडामणि खड्का र जिल्ला नेता लेखबहादुर थापाले भट्टराईलाई प्रमुख अतिथि बनाउन नहुने अडान राखी श्रेष्ठलाई ल्याउनु पर्ने  बताएका थिए । अन्य पार्टीका संयन्त्र प्रतिनिधिले  भट्टराईको नाम लिदा ‘हाम्रो पार्टीबाट कसलाई भन्ने बिषयको प्रस्ताब तपाईहरुले ल्याउने होइन’ भन्दै श्रेष्ठको पक्षमा निर्णय गराएका थिए ।

‘पार्टी भित्रको फरक लाइनको आधारमा नभई गत साल भट्टराई प्रमुख अतिथि भएकाले उनको पक्षमा निर्णय नगरिएको हो’ गोरखा माओवादी सेक्रेटरी खड्काले भने, ‘तर, कुनै विबाद भने होइन । बाबुराम आफै आउने ईच्छा ब्यक्त गरेकाले सिनियिर नेताको हिसाबले उहाँकै पक्षमा निर्णय सच्चाइएको छ ।’ श्रोतका अनुसार श्रेष्ठलाई प्रमुख अतिथि बनाउने निर्णय थाहा पाएपछि भट्टराईले आपत्ति जनाएपछि निर्णय सच्याइएको थियो । भट्टराई गोरखा क्षेत्र नं. दुईबाट निर्वाचिन भएका थिए ।

उनीहरु तीनै  दाहाल पक्षका जिल्ला नेता हुन् । माओवादी जिल्ला नेतृत्वमा दाहाल र बैद्य पक्षका छन् । जसले गर्दा जिविस परिषदको प्रमुख अतिथिमा उपाध्यक्ष श्रेष्ठलाई प्रमुख अतिथि बनाउने भएको थियो  । जिविसको राजनितिक संयन्त्रले श्रेष्ठ प्रमुख अतिथिको रुपमा निर्णय गरेपछि कार्यक्रममा सहभागीताको उनकै नाममा पत्र समेत तयार पारिएको थियो । जिविसको लेटरप्याडमा श्रेष्ठ प्रमुख अतिथि लेखी  केही पत्र वितरण भइसकेका थिए । कार्यालयले लेखेर बाँडेको पत्र समेत पछि माओवादीलेनै फिर्ता थियो ।

त्यसपछि जिविस परिषद्मा भट्टराई प्रमुख अतिथि उल्लेख गरी अर्को पत्र वितरण गरिएको थियो । अतिथिकै बिषयमा तीन दिनसम्म बिबाद भएपछि यस बर्षको जिम्मा माओवादीलाई दिईसके पनि पुन सच्चाएको कांग्रेसका संयन्त्र प्रतिनिधि तथा जिल्ला सभापति हरिबहादुर घलेले बताए । ‘एमाले र कांगेसले माओवादीलाई जिम्मा दिएपछि तपाईहरुले यो वा त्यो भन्न पाउनु हुन्न भनेकाले आफै निर्णय गरेर जानकारी गराउ भनेका थियौ’ घलेले भने, ‘सुरुमा उनीहरुले नारायणकाजीको नाममा निर्णय लेखे । फेरि हामी भित्र विवाद भयो सच्याउनु पर्‍यो भनेपछि टिपेक्स लगाएर बाबुरामको नाम लेखिएको छ ।’