संवैधानिक अदालतको गठनले न्यायायीक स्वतन्त्रतामा खलल पुग्ने भन्दै सो को गठनप्रति कांग्रेस प्रमुख सुशील कोइरालाको असन्तुष्टि

काठमाडौ – कांग्रेसले  संवैधानिक अदालत गठनप्रति असन्तुष्टि जनाएको छ । राजधानीमा बिहीबार आयोजीत पूर्व प्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको शालिक शिलन्यास पछि कांग्रेस सभापति सुशील कोइरालाले संवैधानिक अदालतको गठनले न्यायायीक स्वतन्त्रतामा खलल पुग्ने उल्लेख गरे । कुनै दल विशेषको अभिष्ट पूरा गर्न स्वतन्त्र न्यायालयमा अंकुश लगाउने नियतले ल्याइएको संवैधानिक अदालतको गठन प्रस्ताव आफूहरुलाई मान्य नहुने कोइरालाको भनाइ थियो ।

यस्तै कांग्रेस नेता शेरबहादुर देउवाले संवैधानिक अदालत  र सर्वोच्चको निर्णय बाझिए जनताले सर्वसुलभ न्याय पाउन नसक्ने बताए । जनताले न्याय नपाए लोकतन्त्र बलियो बन्न नसक्ने भन्दै उनले लोकतन्त्र कमजोर बनाउने नियतले संवैधानिक अदालतको गठनको प्रस्ताव आएको देउवाले जिकिर गरे ।

संविधानसभा संवैधानिक समिति अन्तर्गतको उपसमितिले गत शुक्रबार प्रधानन्यायाधिसको अध्यक्षतामा भिन्नै संवैधानिक अदालत बनाउने सहमति गरेको थियो । न्यायायीक पुनरावलोक संवैधानिक विवाद राजनैतिक अधिकार , मौलिक हक जस्ता विषयमा अन्तिम सुनुवाईका लागि यस्तो अदालत गठन गर्ने सहमति उपसमितिमा भएको थियो । उपसमितिमा कांग्रेस संसदीय दलका नेता रामचन्द् पौडेल सदस्य छन् । संवैधानिक अदालतको प्रस्तावमा पौडेलले भने विमती राखेका छैनन् ।