प्रधानमन्त्री झलनाथ खनालद्वारा एमालेका तीन मन्त्रीलाई थप मन्त्रालयको जिम्मेवारी

काठमाडौं – काठमाडौंबाट प्राप्त समाचार अनुसार प्रधानमन्त्री झलनाथ खनालले बिहीबार साँझ एमालेका तीन मन्त्रीलाई थप मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

आफ्नो दलको भागमा परेकासहित ९ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री खनालले एमालेका तीन मन्त्रीलाई थपिदिएका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार खनालले उपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारीलाई वाणिज्य तथा आपूर्ति, ऊर्जा र सिँचाइ, रक्षामन्त्री विष्णु पौडेललाई सामान्य प्रशासन, वन र वातावरण तथा शिक्षा मन्त्री गंगालाल तुलाधारलाई गंगालाल तुलाधारलाई स्थानीय विकास, संस्कृति, संविधानसभा तथा संघीय मामिला र विज्ञान प्रविधि मन्त्रालयको जिम्मेवारी थप गरेका हुन् ।

माओवादी र एमालेको आन्तरिक विवादले थप मन्त्री चयन नगर्दा काम प्रभावकारी नभएको गुनासो आएपछि प्रधानमन्त्रीले आफूसँग रहेका मन्त्रालय घटाएका हुन् । प्रधानमन्त्रीले यसअघि माओवादीका चार मन्त्रीलाई पनि उसले पाउने मन्त्रालयको जिम्मेवारी थपिदिएका थिए । अब प्रधानमन्त्रीसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, गृह, परराष्ट्र, उद्योग र कृषि मन्त्रालय छन् ।