कांग्रेसले शान्ति प्रकृया र संविधान निर्माणमा सुझाव दिन दुई छुट्टाछुट्टै समिति निर्माण

काठमाडौं  – थाहा भए अनुसार कांग्रेसले शान्ति प्रकृया र संविधान निर्माणमा सुझाव दिन दुई छुट्टाछुट्टै समिति निर्माण गरेको छ । नेता शेरवहादुर देउवाको संयोजकोत्वमा शान्तिप्रकृया र संसदीय दलका नेता रामचन्द्र पौडेलको संयोजकोत्वमा संविधान निर्माण सुझाव समिति गठन गरेको हो । कांग्रेस केन्द्रीय समितिको शुक्रबार अपरान्ह बसेको बैठकले दुई समिति बनाउनुको साथै संविधान निर्माण संगै शान्तिप्रकृयाको कार्य अघि बढनुपर्नेमा जोड दिएको छ ।

 

कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले शान्तिप्रकृया र संविधान निर्माणमा पार्टीको धारणा स्पष्टताका साथ राख्दै आवश्यक सुझाव दिन समिति गठन गरिएको बताए । समिति पन्ध्र सदस्यीय छ । ‘संविधान निर्माणमा पार्टीको धारणा राख्ने र देखिएका विमतिलाई सहमतीमा ल्याउन आवश्यक सुझाव समेत समितिले दिनेछ’ केसीले भने ।

 

संविधान निर्माणको कार्यलाई केही अघि बढेपनि शान्तिप्रकृयाको कार्यमा हालै तीन दलबीच सहमती भएका बिषय समेत अघि बढ्न नसकेको भन्दै कांग्रेसले आशंका व्यक्त गरेको छ । बैठकमा बोल्ने अधिकांश सदस्यहरुले संविधान निर्माण अघि शान्तिप्रकृयालाई टुंगोमा पुर्‍याउन तर्फ जोड दिनुपर्ने बताएका थिए । शान्ति र संविधान निर्माणलाई मुख्य एजेण्डा बनाएर यसअघि सुरु बैठक संस्थापक नेता कृष्णप्रसाद भट्टराइको निधनका कारण स्थगित भएको थियो ।

 यसैबीच बैठकले भरतपुर क्यान्सर अस्पतालमा माओवादीको आतंक र बलप्रयोगबाट कार्यकारी निर्देशकलाई दुःख दिने काम भएको भन्दै घटनाको भत्र्सना गरेको छ । कार्यकारी निर्देशक माथि भएको धम्की र बल प्रयोगले हस्तादिनअघिदेखि विरामीले दुःख पाएको उल्लेख गर्दै कांग्रेसले विधिको शासन पालना गराउन सरकारसंग माग गरेको छ ।

 

बैठकले कांग्रेसका पुराना नेता भक्तगोविन्द श्रेष्ठको निधनमा समवेदना प्रकट गरेको छ । श्रेष्ठको ७२ बर्षको उमेरमा विहिबार धरानमा निधन भएको थियो । उनको निधनले कांग्रेसले एक झुझारु नेता गुमाएको कांग्रेसले उल्लेख गरेको छ ।