काठमाडौं – राजधानी काठमाडौंबाट प्राप्त समाचार अनुसार अर्थमन्त्रीसँगको विवादमा राजिनामा दिएको भनी चर्चा गरिएका अर्थसचिव रामेश्वर खनालले आफू कुनै पनि हालतमा फेरि अर्थमन्त्रालय नर्फकने बताएका छन् । ‘मैले अठोट लिइसकेँ अब म फेरि काममा फर्केर आउँदिन, फर्के भने त म मान्छे नै रहन्न । बगेको खोला फर्किदैन, थुकेको थुक चाटिँदैन,’ आइतबार रिपोर्टर्स क्लवको साक्षात्कारमा उनले भने ।
समाचार अनुसार राजीनामापछि सीधै गृहजिल्ला पाल्पा, पर्वत र कास्की पुगेर राजधानी फर्किएलगत्तै साक्षात्कारमा उपस्थित उनले अर्थमन्त्रीसँग सल्लाह नै गरेर राजीनामा दिएको बताए । ‘अर्थमन्त्रीलाई टेलिफोनमा म राजीनामा दिन्छु भनेको थिएँ, अर्थमन्त्रीले तपाई मेरो साइनोको मान्छे तपाईलाई अझै माथिको पदमा पनि लाने विचार थियो राजिनामा नदिएको भए राम्रो हुन्थ्यो,’ भनेको उनले सुनाए ।
शनिबार राति पनि अर्थमन्त्रीसँग आधा घण्टा टेलिफोनमा कुराकानी भएको र उनले ‘काममा फर्कनुस् मिलेर काम गर्नु पर्छ’ भनेको तर आफूले अब काममा नफर्कने जवाफ दिएको खनालले बताए । ‘बाहिर आएजस्तो भ्याट छलीको विषयमा विवाद भएर राजीनामा नदिएको स्पष्ट पार्दै उनले पुरक बजेट ल्याउने विषयमा नेतृत्वले असहयोग गरेको महसुस गरेर आफै राजिनामा दिएको बताए । उनले भने, ‘जहाजमा बसेपछि कि क्याप्टेनलाई सहयोग गर्नुपर्छ कि झगडा गर्ने हो भने त्यहाँ बस्नु हुँदैन । मैले त्यही गरेको हुँ ।’
उनले अर्थमन्त्रीले अर्थमन्त्रालयले बनाएको पुरक बजेटको मस्यौदाभन्दा बाहिरबाट अर्को मस्यौदा ल्याएपछि आफूलाई नेतृत्वले अविश्वास गरेको महसुस भएर राजिनामा दिएको बताए । अर्थमन्त्रीले बाहिरबाट तयार पारेर ल्याएको मस्यौदा वितरणमुखी, लोकप्रियतावादी र अरुलाई भोज खुवाउने खालको भएकोले राज्यको कोषले थाम्न नसक्ने देखेर असहमति जनाएको उनले स्पष्ट पारे । उनले प्रश्न गरे, ‘मबाटै लुकाएर काम हुन थालेपछि कसरी म काम गर्न सक्छु र ?’
भ्याट छलीको विषय विवादको विषय नै नभएको स्पष्ट पार्दै उनले सो विषयमा कानूनभन्दा बाहिर जाने सबै कारबाहीको भागिदारी बन्ने भएकोले अर्थमन्त्रीले सो विषयमा कुनै दबाब नदिएको तर केही नरम बन्न सकिन्छ कि भनेर भनेको जानकारी दिए ।
प्रशासनले ठिक ढंगले काम नगरेकोले राजनीति ठिक हुन नसकेको भन्दै खनालले ४६ सालको आन्दोलनपछि क्रान्तिकारी कार्यक्रम लिएर आएका नेताहरुलाई अगतिलो कुरा प्रशासनका पञ्चायत मानसिकताका ब्यक्तिले भरी दिएकोले पनि राजनीति विग्रेको दाबी गरे । आफ्नो राजीनामाले कर्मचारी तन्त्रमा मनोवल बढ्ने दाबी गर्दै उनले भने, ‘अब कसैले केही गर्यो भने पद छाड्छन् है भन्ने डर भयो ।’
आफ्नो राजीनामा राजनीति र आन्दोलनको विषय नभएको भन्दै यसलाई लिएर सदन अवरुद्ध पार्ने आन्दोलन गर्ने जस्ता काम नगर्न पनि आग्रह गरे । उनले भने, ‘सभासदहरु संविधान बनाउने काममा लाग्नु पर्छ । मुलुकको हितमा छलफल गर्ने थलो संसदलाई अवरुद्ध पार्नु हुँदैन ।’



