गठबन्धनका प्रमुख दुई दल माओवादी र एमाले दुई दिनभित्रै सरकारलाई पूर्णता दिन सहमत


 

काठमाडौं – माओवादी र एमाले दुई दिनभित्रै सरकारलाई पूर्णता दिन सहमत भएका छन् ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री झलनाथ खनाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार विहान दुई दिनभित्रै सरकारलाई पूर्णता दिने सहमति भएको हो । ‘तपाईंहरुले सोचेभन्दा छिटो सरकारले पूर्णता पाउँछ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सोमबार बिहान भने ।

 

सरकारले पूर्णता पाउँदा शान्ति प्रक्रियालाई तीब्रता दिन सहज हुने ती दलको विश्वास छ ।

एमाले स्थायी कमिटी बैठकले मन्त्री छान्ने जिम्मा अध्यक्ष एवं प्रधानमन्त्री खनाललाई र माओवादी स्थायी समिति बैठकले अध्यक्ष दाहाललाई जिम्मा दिएपछि दुई दिनभित्रै सरकारलाई पूर्णता दिने सहमति भएको बताइएको छ ।

दुई दलबीच त्यसअघि नै सरकारमा आउन चाहेका मधेसी जनअधिकार फोरम नेपाल, नेकपा संयुक्त, नेकपा माले, नेकपा माले-समाजवादीलगायतसँग छलफल गरी मन्त्रालय बाँडफाँट टुंग्याउने सहमति भएको छ । ‘यी बाहेक विपक्षमा बस्ने निर्णय गरेका कांग्रेस र मधेसवादी दलहरुलाई सरकारमा आउन आहृवान गर्ने सहमति भयो,’ थापाले भने ।

मन्त्रिमण्डलले पूर्णता पाउन नसक्दा खनाल सरकारका मन्त्रीहरुलाई पाँच-पाँच वटासम्म मन्त्रालयको जिम्मा लगाइएको छ । मन्त्रालयमा काम प्रभावकारी नभएको, शान्ति प्रक्रिया अलमलमा परेको भन्दै आलोचना भएपछि दुई दिनभित्रै सरकारलाई पूर्णता दिन दुवै दल सहमत भएका हुन् ।

मन्त्रालय बाँडफाँटमा सहमति भए पनि माओवादी र एमालेको आन्तरिक विवादका कारण मन्त्रीहरुको टुंगो लाग्न सकेको छैन । पटक-पटकका बैठक निष्कर्षविहीन भएपछि माओवादीको सिन्धुपाल्चोकमा बसेको बैठकले अध्यक्ष दाहाललाई र एमालेको आइतबार राति अबेर सकिएको बैठकले अध्यक्ष एवं प्रधानमन्त्री खनाललाई मन्त्रीहरु चयन गर्ने जिम्मा दिएको छ । दुवै अध्यक्षले मंगलबारभित्रै पार्टीमा सहमति जुटाएर मन्त्रीहरुको टुंगो लगाउने छन् ।

करिव एक घण्टा भएको खनाल-दाहाल भेटमा एक अर्का स्थायी समिति बैठकको निर्णय जानकारी गराइएको थियो । भेटमा उप्रधानमन्त्री भरतमोहन अधिकारी र कृष्णबहादुर महरा तथा माओवादी उपाध्यक्ष मोहन वैद्य पनि सहभागी थिए ।