जनकपुर – अब हुने मन्त्री मण्डल फेरवदलमा केपी शर्मा ओली प्रधानमन्त्री बन्ने दावी एमालेका वरिष्ट नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गरेका छन् ।
‘अब हुने मन्त्री मण्डल फेरवदलमा पनि एमालेकै नेता प्रधानमन्त्री बन्ने छन् । अवको पालो केपी ओलीको हो’ एमाले सम्बद्ध लोकतान्त्रिक मधेसी संगठनको सोमवार जनकपुरमा सम्पन्न केन्द्रीय भेला तथा विस्तारित बैठकलाई संवोधन गर्दै उनले भने ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल र आफ्नै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री झलनाथ खनालप्रति आक्रोशित देखिएका नेपालले भने, ‘प्रचण्ड मलाई हटाएर आफै प्रधानमन्त्री बन्न चाहन्थे तर म पनि कहाँ कम थिएँ र ? मैले पनि झलनाथ खनाललाई प्रधामन्त्री बनाई छाडे ।’
आफू हटे पनि आफ्नै पार्टीका नेता प्रधानमन्त्री भएकोमा प्रशन्नता व्यक्त गर्दै उनले भने, ‘एमाले भित्र प्रधानमन्त्री बन्ने लायकका धेरै नेता छन् । एमालेको पालो सके पछि मात्र अरु दलको पालो आउँछ ।’
प्रधानमन्त्री खनाल र अर्थमन्त्री भरतमोहन अधिकारीलाई ‘धेरै सोझो नेता’ को संज्ञा दिंदै उनले सरकारले माओवादी दवावमा पूरक वजेट ल्याउन लागेको बताए । आर्थिक वर्षसमाप्त हुन चार महिना भन्दा पनि थोरै समय बाँकी रहेको अवस्थामा पूरक वजेट ल्याउन खोज्नु उचित नभएको उनको भनाइ थियो । ‘खनाल र अधिकारीजी असाध्यै सोझा हुनुहुन्छ । माओवादीको घुर्कीबाट थर्कमान हुनुहुन्छ । मलाई भने हुन्थ्यो । मेरो सामु कसैको घुर्की चल्दैन’ नेपालले भने ।
माओवादीले पूरक वजेट ल्याएर ब्रह्मलूट मचाउन चाहेको आरोप लगाउँदै उनले माओवादी जनसेनाको नाममा समेत व्यापक आर्थिक अनियमितता हुने गरेको बताए । उनले भने, ‘माओवादी जनसेनाको नाममा मासिक छुट्याईएको १९ करोड वजेट मध्ये आधा माओवादी पार्टीको नाममा जम्मा हुने गरेको छ ।’
लोकतान्त्रिक मधेसी संगठनका अध्यक्ष एवं एमाले केन्द्रीय सदस्य रघुवीर महासेठको अध्यक्षतामा सम्पन्न विस्तारित बैठकमा केन्द्रीय उपाध्यक्ष रामचन्द्र यादव, महासचिव वंशीधर मिश्र, सचिव गोपाल ठाकुर, एमाले नेता लालबाबू पण्डित, रामचन्द्र प्यासी, वैकल्पिक केन्द्रीय सदस्य योगनारायण यादव, श्रीप्रसाद साहसहितका नेताहरुको उपस्थिती थियो ।



