बिरालो लाई दुधको गार्ड राखे जस्तै अख्तियारका आयुत्त द्वारा कमाएको कालो धनको खुलासा

नेपालमा भ्रष्टाचार कतिसम्म व्याप्त भइसकेको रहेछ भन्ने कुराको उदाहरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आयुक्तका रूपमा काम गरिसकेका दुई भाइले प्रस्तुत गरेका छन्।


भ्रष्टाचार नियन्त्रणको मुख्य जिम्मेवारी प्राप्त गरेका वेदप्रसाद सिवाकोटी र ललितबहादुर लिम्बूले अख्तियारको आयुक्तका रूपमा रहेर अख्तियार दुरुपयोग गरी अनुचित लाभ लिने गरेको रहस्योद्घाटन भएपछि देशमा भ्रष्टाचारको जालो कहाँसम्म फैलिएको रहेछ भन्ने स्पष्ट हुन पुगेको हो।


हुन त सिवाकोटी र लिम्बू अख्यितारलाई नै कमाइ खाने भाँडो बनाउँदै छन् भन्ने चर्चा उनीहरू पदमा रहँदैमा चलेको हो। तर त्यसबेला ठोस प्रमाण फेला नपरेका कारण उनीहरूविरुद्धको चर्चा चर्चामै मात्र सीमित भएको थियो, कानुनी कारबाहीको दायरासम्म ल्याउने स्थिति बनेको थिएन। अहिले सर्वोच्च अदालतका प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठले त्यहाँ परेको एक मुद्दाको अध्ययन गर्ने क्रममा सिवाकोटी र लिम्बूको ‘करामत’ सप्रमाण भेटेपछि उनीहरूका विरुद्ध कानुनी कारबाही गर्न आदेश दिइएको छ।


उनीहरूले अख्तियार दुरुपयोग गरी सरकारी जमिन व्यक्तिको नाममा दर्ता गराउने व्यवस्था मिलाएका थिए।


काठमाडौं महानगरपालिका वडा नं. १० बुद्धमार्गस्थित यूएन पार्कको नाममा रहेको सवा दुई रोपनी जग्गा पूर्णबहादुर तण्डुकारसमेतको नाममा दर्ता गराउन लिम्बू र सिवाकोटीले आदेश दिएका थिए र अख्तियारको आदेशलाई ‘शिरोधार्य गर्दै’ काठमाडौं जिल्ला मालपोत कार्यालयले सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरिदिएको थियो।


प्रतिआना कम्तीमा बीस लाख पर्ने उक्त जग्गा व्यक्तिको नाममा दर्ता गर्ने क्रममा तात्कालिक मालपोत कार्यालयप्रमुख प्रेमबहादुर खापुङ र अख्तियारका आयुक्तहरू वेदप्रसाद सिवाकोटी तथा ललितबहादुर लिम्बूको मिलोमतो भएको देखिएको छ।