राजाबिरुद्ध संयुक्त आन्दोलन थालेको सम्झनामा आज एमाओवादीले देशभर जनसभा गर्दै

एकीकृत नेकपा माओवादीले २०४६ सालको जनआन्दोलनको स्मरण गर्दै आज देशभर जनसभाको आयोजना गरेको छ ।
प्रमुख नेताहरुको उपस्थितिमा राजधानी लगायत देशका विभिन्न १५ स्थानमा सभा गर्ने माओवादीले जनाएको छ । काठमाडौंको बसन्तपुरमा अपरान्ह १ बजे हुने सभालाई अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष मोहन वैद्यले सम्बोधन गर्ने बताईएको छ ।
यस्तै सुर्खेतमा उपाध्यक्ष डा.बाबुराम भट्टराई, पोखरामा अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, विराटनगरमा सचिव सीपी गजुरेल, बागलुङमा बिदेश विभाग प्रमुख कृष्णबहादुर महरा,जुम्लामा स्थायी समिति सदस्य वर्षमान पुन, दाङमा नेत्रविक्रम चन्द, नारायणगढमा प्रवक्ता दीनानाथ शर्मा, नेपालगञ्जमा लिलामणि पोखरेल र रोल्पामा हुने सभालाई लोकेन्द्र विष्ट र खड्गबहादुर विश्वकर्माले सम्वोधन गर्ने माओवादी केन्द्रीय कार्यालय सचिव विकेश श्रेष्ठले जानकारी दिनुभयो ।
कांग्रेस-एमाले लगायतका दलहरुले भने चैत २६ गतेलाई जनआन्दोलन दिवसका रुपमा मनाउादै आएका छन् । २०६२ सालमा राजाको प्रत्यक्ष सासनको बिरुद्धमा माओवादी र सात दल मिलेर संयुक्त आन्दोलन थालेका थिए । १९ दिनसम्म चलेको सो आन्दोलनले सुरुमा राजाको प्रत्यक्ष शासनको अन्त्य गर्‍यो भने पछि संबिधानसभाको चुनाव र गणतन्त्र स्थापनासम्मका लागि मार्ग खुला गरेको थियो ।