काठमाडौं – संस्थापन र शेरबहादुर देउवा पक्षधरबीच चरम विवाद भएपछि कांग्रेसले भातृ संगठन विघटन विवाद थाति राखेको छ । ‘शान्ति र संविधानलाई प्राथमिकता दिन भातृ संगठन विघटन विवाद थाति राखेको’ कांग्रेसको भनाइ छ ।
‘शान्ति प्रक्रिया र संविधान निर्माणलाई प्राथमिकता दिन पार्टीका केही भातृ संगठन विघटनलाई अहिले थाति राखेका छौं,’ बैठकपछि कांग्रेस केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले जानकारी दिए । सभापति सुशील कोइरालाले नेपाल विद्यार्थी संगठन विघटन गर्ने र महिला र युवा संघका अध्यक्षलाई राजीनामा दिन दवाव दिएपछि कांग्रेसमा विवाद चर्किएको थियो ।
नेता केसीका अनुसार कांग्रेसले ‘शान्ति, लोकतन्त्र र लोकतान्त्रिक संविधान-नेपाली कांग्रेसको राष्ट्रिय अभियान’ नाराका साथ बैशाख ११ गतेदेखि देशव्यापी आमसभा आयोजना गर्ने भएको छ ।
‘राष्ट्रिय जागरण शान्ति अभियान’ नाम दिइएको अभियान अन्तर्गत कास्की, झापा, सर्लाही, रुपन्देही, दाङ, कञ्चनपुर हुँदै २०६८ जेठ ६ गते काठमाडौंमा केन्द्रीय आमसभाको आयोजना गर्ने केसीले जानकारी दिए । केन्द्रीय आमसभालाई सभापति सुशील कोइराला, नेता शेरबहादुर देउवा र संसदीय दलका नेता रामचन्द्र पौडेललगायत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । जिल्ला-जिल्लामा हुने आमसभामा भने केन्द्रीय सदस्यहरु सहितका वक्ताहरुले सम्बोधन गर्ने छन् ।
अपराध बढ्यो
कांग्रेसले देशको शान्ति सुरक्षाको अवस्था दिन प्रतिदिन खस्कँदै गएको भन्दै चिन्ता व्यक्त गरेको छ । ‘हत्या, डकैती, लुटपाट, अपहरण जस्ता गम्भीर अपराधहरु दिन प्रतिदिन बढ्दै गएका छन् । जनताको शान्तिपूर्ण बाँच्च पाउने, पेशा व्यवसाय गर्न पाउने अधिकार दिन प्रतिदिन खुम्चदै गएको छ,’ बैठकपछि जारी विज्ञप्तीमा जनाइएको छ ।
व्यवसायी अन्जनीकुमार चाचनको हत्या, नवनियुक्त मन्त्री गोकर्ण विष्ट, डा. अनिलकुमार झा, पाकिस्तानी दुतावासका कर्मचारी मेहवुव आसिफमाथि भएको सांघातिक आक्रमणले जनताको जीउधनको सुरक्षामा गम्भीर प्रश्न चिन्ह खडा भएको कांग्रेसको ठहर छ । ‘यस्ता हिंसात्मक घटनाहरुको निन्दा र भत्र्सना गर्दै सरकारले शान्ति सुरक्षाको व्यवस्था गर्न नसकेकोमा सरकारप्रति नेपाली कांग्रेस खेद प्रकट गर्दछ,’ विज्ञप्तीमा भनिएको छ, ‘अपराधीहरुलाई पक्राउ गरी शान्ति सुरक्षाको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गरिन्छ ।’
पेट्रोलिम पदार्थ सहज बनाऊ
कांग्रेसले पेट्रोलिम पदार्थको मूल्य वृद्धि लगातार भइरहनु र वितरण प्रणालीको पनि उचित व्यवस्थापन नभएका कारण सर्वसाधारणको जीवन कष्टप्रद भएको जनाएको छ । ‘पेट्रोलिम पदार्थ सर्वसुलभ ढंगले उपभोक्तालाई उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गरिन्छ,’ कांग्रेसले भनेको छ ।
कांग्रेसले अरब खाडी क्षेत्रमा भइरहेको आन्दोलनले त्यहाँ रहेका नेपालीहरु प्रभावित हुन सक्ने भन्दै सुरक्षाको लागि उचित पहल सरकारको ध्यानाकर्षण गरेको छ । उसले शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलनप्रति नैतिक समर्थन रहने उल्लेख गरेको छ ।



