काठमाडौ – संयुक्त राष्ट्रसंघीय मानव अधिकार सम्बन्धी उपउच्चायुक्त क्युङ-ह्वा काङ यही बैशाख ५ गते तीन दिने भ्रमणका क्रममा नेपाल आइपुग्ने भएकी छन् । उनी राष्ट्र संघका सहायक महासचिव सरहका बरिष्ठ अधिकारी हुन् ।
संविधान निर्माणका क्रममा रहेको बेला मुलुकको मानव अधिकारको अबस्था बारे र कसरी नयाँ बन्ने संविधानमा मानव अधिकारका अन्तरराष्ट्रिय मापदण्डहरुलाई अंगिकार गर्न सकिन्छ भन्ने बारेमा छलफलका लागि आउन लागेकी हुन् ।
उनले सरकार, राष्ट्रिय मानवअधिकार संस्था तथा नागरिक समाज सङ्गठनका प्रतिनिधिहरूसँग भेटघाट गर्ने छिन् । त्यसैगरी संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानवअधिकार समितिद्वारा आयोजना गरिने एक कार्यक्रमलाई सम्बोधान गर्ने कार्यक्रम रहेको पनि ओएचसीएचआरको नेपाल कार्यालयले जनाएको छ ।
उक्त सम्बोधनमा उनले अन्तर्राष्ट्रिय मानवअधिकार मापदण्डहरूलाई पूर्ण रूपले अङ्गीकार गर्ने संविधानका साथै सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पार्ने कार्यसम्बन्धी जाँचबुझ आयोगको स्थापना गर्ने लगायतका कानुन पारित गर्नसमेत आह्वान गर्ने छिन् ।
त्यसैगरी राष्ट्रिय दलित आयोग र राष्ट्रिय महिला आयोगले जातीय विभेद र लैंगिक विभेदका सम्बन्धमा आयोजना गर्ने कार्यक्रममा पनि उनले भाग लिने छिन् ।
सन् २००६ सेप्टेम्बरमा मानवअधिकार उपउच्चायुक्तमा नियुक्ति पाएकी हुन् ।



