भारतीय विदेशमन्त्री एसएम कृष्णाद्बारा आफ्नो मुलुकले नेपाललाई उच्च प्राथमिकतामा राखेको उल्लेख

काठमाडौ  –  आफ्नो मुलुकले नेपाललाई उच्च प्राथमिकतामा राखेको भारतीय विदेशमन्त्री एसएम कृष्णाले उल्लेख गरेका छन् । तीन दिने भ्रमणका लागि मंगलबार दिउँसो त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थल आइपुगेका उनले उक्त कुरा बताएका हुन् ।

विमानस्थलमा बितरित कृष्णाको बक्तब्यमा आपसी हीतका मुद्दाहरुलाई कार्यन्वयन तहमा लैजान दुवै पक्षबीच बार्ता हुने उनले उल्लेख गरेका छन् । त्यसैगरी बिगतमा भएका सम्झौताहरुको स्थतिको मुल्यांक गरिने बताएका छन् ।

दिउँसो १२ बजेदेखि अर्थमन्त्री भरतमोहन अधिकारीसिहतको नेपाली टोलीसंग होटल याक एण्ड यतीमा वार्ता भइरहेको छ । मंगलबार नै राष्ट्रपति र प्रधानमन्त्रीलाई पनि भेट्ने कार्यक्रम रहेको छ ।

उनले सरकारमा सहभागी भइसकेको माओवादी पक्षबाट भारतविरोधी गतिविधि जारी रहेको र भारतीय राजदूतका जिल्ला भ्रमणमा निरन्तर विरोध भइरहेको सन्दर्भमा भारत सरकारका उच्च पदाधिकारीले ‘भारत नीति’ बारे स्पष्ट पार्न नेपाल सरकारलाई आग्रह गर्ने जनाइएको छ ।

परराष्ट्र सचिव मदनकुमार भट्टराईसहितका पदाधिकारी सम्मिलित रहने वार्तामा द्विदेशीय सम्झौताका कार्यान्वयन आधारमाथि औपचारिक कुराकानी हुने  छ ।

संयुक्त भन्सार विन्दु, रेल्वे परियोजना, हुलाकी सडकसहितका ठूलो लगानीका कार्यक्रममा सम्झौता भएको दुई वर्ष बितिसक्दा पनि खासै प्रगति हुन नसकेको बारे द्विपक्षीय छलफल हुने भएको परराष्ट्रका एक वरिष्ठ अधिकारीले बताए ।

‘भारत सरकारको सहयोगमा सञ्चालित विकास योजना र कार्यक्रमको अनुगमन गर्न राजदूत राकेश सूद जिल्लाहरूमा जाँदा माओवादी पक्षबाट भएको निरन्तरको विरोधका आधारमा भारतीय पक्षले नेपाल-नीतिबारे जिज्ञासा राख्ने बुझिएको छ,’ ती अधिकारीले भने । सोलुखुम्बु भ्रमण क्रममा आफूलाई माओवादी कार्यकर्ताले ढुंगा तथा जुत्ता प्रहार गरेकोबारे सूदले परराष्ट्रमा ‘नोट’ टिपाए पनि यसबारे कुनै स्पष्टीकरण नआएको बारेसमेत जिज्ञासा राखिने भएको छ ।

‘सुपुर्दगी सन्धि र आपसी कानुनी परामर्श सम्झौताबारेको सहमति प्रक्रिया, विवादास्पद कालापानी र सुस्ताको नापी प्रक्रिया, भारतीय शिक्षकले नेपालमा बेहोरेको कठिनाइसहितका विषय उठ्ने भएका छन्,’ परराष्ट्र अधिकारीले भने । यसैगरी १२ वर्षअघि काठमाडौंबाट भएको भारतीय विमानको अपहरणपछि भारत सरकारले आफ्नो उडान सेवाभित्र ‘एयर-मार्सल’ राख्न नेपाललाई गर्दै आएको आग्रहसमेत यसपटकको द्विपक्षीय वार्तामा दोहोर्‍याइनेछ । विगतको सम्झौताअनुरूप जोगबनी-विराटनगर, रुपडिया-नेपालगन्ज, रक्सौल-वीरगन्ज र सुनौली-भैरवहामा संयुक्त भन्सार विन्दु निर्माण गर्ने भनिएको थियो । भारतीय पक्षले यी विन्दुमा भौतिक निर्माणका पूर्वाधार तयार गरिसकेर पनि नेपाली पक्षको काम सुस्त रहेको विषय पनि छलफलमा रहनेछ ।

विदेशमन्त्री कृष्णाले बुधबारै राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री झलनाथ खनालसँग भेटवार्ता गर्नेछन् । भारतीय दूतावासकी प्रवक्ता अपूर्वा श्रीवास्तवका अनुसार कृष्णा वीरगन्जमा निर्माण हुने संयुक्त भन्सार विन्दु र तराई सडकको निर्माण शिलान्यास गर्न बिहीबार त्यसतर्फ जाने छन् ।