संसदको चालू हिउँदे अधिवेशन होहल्ला विच अन्त्य

काठमाडौं – संसदको चालू अधिवेशन शुक्रबारदेखि अन्त्य भएको छ । सभामुख सुवासचन्द्र नेम्वाङले संसद् अधिवेशन अन्त्य गरेको पत्र पढेर सुनाउँदा चार सभासद्ले भने होहल्ला गरिरहेका थिए ।

राष्ट्रपतिबाट संसद् अन्त्य भएको पत्र सभामुखले सुनाएपछि चालु अधिवेशन अन्त्य हुने संवैधानिक व्यवस्था छ । त्यसअघि शुक्रबार नै प्रधानमन्त्री झलनाथ खनालले अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए ।

शुक्रबार शीतल निवासमा राष्ट्रपति रामवरण यादवसँग भेट गरी प्रधानमन्त्री खनालले संसदको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेका थिए ।

संसदको शुक्रबारको बैठकमा सभासदहरु बुद्धरत्न मानन्धर, सदरुल मियाँ हक, रुक्मिणी चौधरी र विश्वेन्द्र पासवानले रोष्ट्रम घेराउ गरी लगातार नाराबाजी गरे । उनीहरुले नयाँ संविधानमा जनजाति आदिवासी, दलित, अल्पसङ्ख्यक र पिछडिएका समुदायको हक अधिकार सुनिश्चित गर्न माग गर्दै यसअघिको बैठक पनि अवरुद्ध पारेका थिए ।