अनलाइन जुवा र क्रिप्टोमा एकै व्यक्तिले गरे ५५ करोडको कारोबार

 

काठमाडौं – अनलाइन गेमहरूमा गैरकानुनी सट्टेबाजी तथा क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा एक युवा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पाँचथर मिक्लाजुङ गाउँपालिका वडा नम्बर ७ का ३७ वर्षीय सुनिल राई रहेका छन्। ललितपुर महालक्ष्मी नगरपालिका वडा नम्बर ४ अफल टोल बस्दै आएका राईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार पक्राउ गरेको हो।

कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईका अनुसार राईले सट्टेबाजी तथा क्रिप्टोमा हालसम्म ५५ करोड २० लाख ८४ हजार ७१ रुपैयाँ कारोबार गरेको भेटिएको छ।  राईले ७५ वटा बैंक खाता खोलेको अनुसन्धानमा खुलेको छ। उनले १२८ वटा इ-सेवा वालेट र बाइनान्स आइडी प्रयोग गरेर सट्टेबाजी क्रिप्टो कारोबार गरेको पाइएको छ।

उनले आफ्नै कोठामा विभिन्न सामग्रीहरूको मद्दत लिएर त्यसरी गैरकानुनी क्रियाकलाप गरेको भेटिएको छ।

राईलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद-५ को दफा १२५ जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने र सोही संहिताको दफा २६२ (क) १ अभौतिक मुद्राको प्रयोग गर्न नहुने बमोजिमको कसुरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ।

images

प्रारम्भिक अनुसन्धान अनुसार राईले विभिन्न व्यक्तिको नाममा नागरिकता प्रमाण पत्रसमेत प्रयोग गरेर ७५ वटा बैंक खाता खोलेका छन्। ती खाताको केवाइसी फारममा समेत आफ्नै फोटो टाँसेर ३७ करोड २० लाख ९६ हजार २८२ रुपैयाँ कारोबार गरेको खुलेको छ।

images

उनले फरक-फरक व्यक्तिहरूको नामबाट १२८ वटा इ-सेवा आइडी खोलेका छन्। फरक-फरक डिभाइसबाट उनले ती खातामा ११ करोड ६७ लाख १९ हजार १९० रुपैयाँ कारोबार गरेका छन्।

राईले बाइनान्स आइडी खोलेर ६ करोड २३ लाख २४ हजार १९१ रुपैयाँ बराबरको कारोबार गरेको खुलेको छ।

images

यसैगरी, राईले २५ वटाभन्दा बढी जिमेल अकाउन्ट खोलेर वान एक्स बेट (जुवा) खेल्ने/खेलाउने गरेको खुलेको छ। ‘उनले विभिन्न स्थानमा कोठा लिएर लुकिछिपी, हुलिया परिवर्तन गरेर वान एक्स बेट खेल्ने गरेको अनुसन्धानमा खुलेको छ,’ कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले भने।

पक्राउ परेका राई क्रिप्टो कारोबार र अनलाइन जुवा खेलाउनेमध्येका मुख्य नाइके हुन्। अन्य व्यक्तिहरूको पहिचान भइसकेको छैन।

‘विभिन्न बैंकमा खोलिएका खाता विवरण हेरेपछि संलग्न अन्यको पहिचान हुन्छ,’ आचार्यले भने, ‘कहिलेदेखि यस्तो कारोबारमा संलग्न हो भनेर सोध्दा स्पष्ट नबताउने गरेका छन्।’ सम्बन्धित बैंक तथा इ-सेवा आइडीको विवरणका लागि प्रहरीले पत्राचार गर्ने तयारी गरिरहेको छ।

Nepal life insurance

अहिलेको अनुसन्धान अनुसार राई किर्ते मुद्दामा समेत तानिन्छन्। उनले मरेका व्यक्तिको नागरिकता प्रयोग गरेर सिमकार्ड लिएका छन्।

उनले विभिन्न व्यक्तिका जिउँदै वा मरेका व्यक्तिको नागरिकता प्रयोग गरेर एनसेलका ७० थान, नेपाल टेलिकमका पाँच थान सिमकार्ड लिएको भेटिएको छ। प्रहरीले उनको कोठाबाट अन्य विभिन्न सामग्री बरामद गरेको छ।

बरामद सामग्रीमा ल्यापटप दुई थान, मोबाइल सेट आठ थान, वाइफाई राउटर दुई थान, विभिन्न व्यक्तिको नाममा रहेका नागरिकता ११ थान, राहदानी १५ थान, चेकबुक २२ थान र एटिएम ४२ थान छन्।

‘उनले यस्तो कारोबार गर्दा आफ्नो कोठासमेत प्रयोग गर्ने गरेका छन्,’ आचार्यले भने, ‘ठूलो रकम कारोबार गरेको हुनाले यो निकै लामो समयदेखि कारोबार गरेको हुनुपर्छ।’

प्रहरीले उनीसँग जोडिएका व्यक्तिहरूको पहिचानका लागि मोबाइल नम्बर ‘ट्रयाकिङ’ गरिरहेको छ।

नेपालको कानुनले अनलाइन जुवा खेल्न प्रतिबन्ध लगाएको छ। भारतमा अनलाइन जुवा खेलाउन प्रतिबन्ध छैन। भारतमै क्रिप्टो करेन्सीलाई करको दायरामा ल्याएर वैध बनाइएको छ।

नेपालमा भने क्रिप्टो करेन्सीलाई गैरकानुनी मानिन्छ। पछिल्लो समय क्रिप्टो करेन्सीबाट अर्बौं रकम विदेशिएको भन्दै राष्ट्र बैंकले यसलाई दायरामा ल्याउनेबारे छलफल चलाएको तीन वर्ष भयो। तर, अहिलेसम्म क्रिप्टोबारे कुनै नीति बनिसकेको छैन।

क्रिप्टो अर्थात गुप्त र करेन्सी अर्थात् मुद्रा हो। शाब्दिक अर्थमा क्रिप्टो करेन्सी भन्नाले विनिमयका माध्यमका रूपमा काम गर्ने संकेताक्षर (कोड वा क्रिप्टोग्राफी) द्वारा सुरक्षित विद्युतीय वा भर्चुअल मुद्रा हो। क्रिप्टोमा जोडिएपछि संकेत पाइने र त्यसैमार्फत् नेपाली रकमलाई डलरमा परिणत गरी कारोबार गरिन्छ।