सरकारले जेठ ९ गते बजेट ल्याउने तयारी गरिहेको बेला प्रधानमन्त्री झलनाथ खनालकै पार्टीका सभासदहरुद्धारा तत्काल बजेट ल्याउन नहुने सुझाव

काठमाडौ – प्रधानमन्त्री झलनाथ खनालकै पार्टीका सभासदहरुले सरकारले जेठ ९ गते बजेट ल्याउने तयारी गरिहेको बेला तत्काल बजेट ल्याउन नहुने सुझाव दिएका छन् ।

एमाले संसदीय दलको शुक्रबार बसेको बैठकमा अधिकांश सभासदहरुले बजेट प्रक्रियाले शान्ति र संविधानको काममा बाधा पुग्न सक्ने सुझाव दिएका छन् । जेठ-१४ अगाडि बजेट ल्याइन नहुनेमा अधिकांश सभासदहरुको जोड थियो ।

स्रोतका अनुसार बजेट प्रक्रिया तथा त्यसमा सुरु हुने छलफलले शान्ति र संविधानलाई अप्ठ्यारो पर्न सक्ने सभासदहरुको तर्क थियो । ‘ध्यान अन्त मोडिन सक्छ । विपक्षी दलहरुले पनि बजेट नरुचाएको बेला तत्काल बजेट ल्याइनुहुन्न ।’सभासदहरुको धारणा थियो ।

जेठ ९ मा बजेट ल्याउने हो भने त्यसअघि शान्ति र संविधानक प्रक्रियाका विषयमा ठोस कार्यरुप ल्याइनुपर्ने एमाले सभासदहरुले प्रधानमन्त्रीलाई सुझाव दिए ।

प्रधानमन्त्री खनालले बजेट तथा शान्ति र संविधानको प्रक्रिया संग संगै अगाडि बढाउन सकिने बताए । ‘सबैबेलामा विपक्षी के भन्छ,त्यही आधारमा हिड्न सकिन्न’,प्रधानमन्त्रीको भनाई थियो ।

बैठकपछि सचेत भीम आचार्यले शान्ति र संविधानसंग संगै बजेट प्रक्रिया अघि बढाइने बताए ।