झलनाथ खनाल नेतृत्वको सरकारले राजीनामा नदिंदासम्म संविधान सभाको म्याद थप्न कांग्रेस तयार नहुने कांग्रेस नेताको भनाई

बुटवल   – झलनाथ खनाल नेतृत्वको सरकारले राजीनामा नदिंदासम्म संविधान सभाको म्याद थप्न कांग्रेस तयार नहुने कांग्रेसका नेता बालकृष्ण खाँडले बताएका छन् ।

प्रेस युनीययन रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता खाँडले वर्तमान सरकारले सरकार बाहिरका मात्र होइन सरकार भित्रैका दललाईसमेत समेट्न नसकेकाले शान्ति  प्रक्रियालाई टुंग्याउन सहमतिय सरकार तथा संघीय लोकतान्त्रीक संविधान बनाउन कांग्रेसले वर्तमान सरकारको विघटन पहिलो शर्तका रुपमा अघि सार्ने बताए ।

नेता खाँडले माओवादीले संविधानलाई केवल विकल्पका रुपमा लिएको तथा जनवादी संविधान बनाउने भनेर कतिपय दस्तावेज र भाषणमा उल्लेख गरेकाले माओवादीसितसमेत संविधान सभाको म्याद थप्नु पूर्व संविधान सभाको मुलभूत सिद्धान्त, जनवादी गणतन्त्र कि लोकतान्त्रीक गणतन्त्र , जनवादी शासन व्यवस्था कि लोकतान्त्रीक शासन व्यवस्था भन्ने बारेमा स्पष्ट पार्न सहमति गर्नुपर्ने उल्लेख गरे । कांग्रेसले कुनै हालतमा अधिनायकवाद नमान्ने भएकाले माओवादी सहमतिमा नआए जनमत संग्रहमा जान कांग्रेस तयार रहेको उनको दावी थियो । पटक पटकका आन्दोलनको अगुवाई गरेको कांग्रेसले अब माओवादीसित भएको वैचारीक विभेद र लोकतन्त्र रक्षाका लागि समेत आन्दोलनको अगुवाइ गर्न आफ्ना कार्यकर्ताको राय बुझ्न कांग्रेसले देशव्यापी जनजागरण अभियान सुरु गरेको उनको भनाइ थियो ।