फोरम र साना दलहरुलाई समेत समेटेर प्रधानमन्त्री झलनाथ खनालद्वारा १४ मन्त्री थपी मन्त्रिपरिषद् विस्तार

काठमाडौँ – मधेसी जनअधिकार फोरम र साना दलहरुलाई समेत समेटेर प्रधानमन्त्री झलनाथ खनालले आज १४ मन्त्री थपी मन्त्रिपरिषद् विस्तार गरेका छन्। खनाल मन्त्रिपरिषद्को विस्तार भएको यो चौथो पटक हो। नवनियुक्त मन्त्रीले आजै राष्ट्रपतिसामु शपथ ग्रहण गरेका छन्।


आज शपथ लिने मन्त्रीहरुमा एमालेका तर्फबाट बिना विभागीय मन्त्री घनश्याम भुसाल छन्। त्यसैगरी माओवादीबाट सञ्चार मन्त्रीमा अग्नि सापकोटा, स्वास्थ्य मन्त्रीमा शक्ति बस्नेत, कानुन मन्त्रीमा प्रभु शाह, उद्योग मन्त्रीमा महेन्द्र पासवान, भूमिसुधार मन्त्रीमा रामचरण चौधरी, युवा तथा खेलकुद मन्त्रीमा हितबहादुर तामाङ र शान्ति मन्त्रीमा विश्वनाथ शाहले शपथ लिएका छन्। यसअघि शान्ति मन्त्रीमा नियुक्त माओवादीका वर्षमान पुन पदमुक्त भएका छन्।


महिला मन्त्रीमा नियुक्त जयपुरी घर्ती शपथमा उपस्थित भइनन्।


मधेसी जनअधिकार फोरमबाट उपप्रधान तथा परराष्ट्रमन्त्रीमा उपेन्द्र यादव, कृषिमन्त्री हरिनारायण यादव र श्रममन्त्री मोहम्मद इस्तियाक रायले पनि शपथ लिएका छन्।


साना दलका तर्फबाट नेकपा मालेका खगेन्द्र प्रसाईं र नेकपा संयुक्तका सुनिल मानन्धरले वातावरण मन्त्रीका रुपमा शपथ लिएका छन्।


त्यसैगरी आजको मन्त्रिमण्डल पुनर्गठनमा राज्यमन्त्रीहरुलाई पनि जिम्मेवारी तोकिएको छ। राज्यमन्त्रीहरुले प्रधानमन्त्रीको उपस्थितिमा सिंहदरबारमा शपथ लिने प्रचलन छ।


राज्यमन्त्री नियुक्त भएकाहरुमा माओवादीबाट धर्मशीला चापागाईं सञ्चारमा, देवी खड्का भौतिक योजना तथा निर्माणमा, हबिबुल्लाह खान भूमिसुधारमा, ध्रुवकुमार लिम्बू पर्यटनमा छन्। त्यसैगरी फोरमबाट नन्दनकुमार दत्त कृषि राज्यमन्त्री नियुक्त भएका छन्।

 

प्रेस नोट

नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८, ३९ र ४० बमोजिम सम्माननीय प्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा गठित मौजुदा मन्त्रिपरिषद्मा सम्माननीय प्रधानमन्त्रीले देहायबमोजिम नियुक्त, हेरफेर र कार्यविभाजन गर्नुभएको छः

क्र.सं.    नाम, थर    पद    कार्यविभाजन

१.    श्री भरतमोहन अधिकारी    उपप्रधानमन्त्री    अर्थ र वाणिज्य तथा आपूर्ति

२.    श्री कृष्णबहादुर महरा    उपप्रधानमन्त्री    गृह

३.    श्री उपेन्द्र यादव    उपप्रधानमन्त्री    परराष्ट्र

४.    श्री विष्णुप्रसाद पौडेल    मन्त्री    रक्षा

५.    श्री टोपबहादुर रायमाझी    मन्त्री    भौतिक योजना तथा निर्माण

६.    श्री अग्निप्रसाद सापकोटा    मन्त्री    सूचना तथा सञ्चार

७.    श्री शक्तिबहादुर बस्नेत    मन्त्री    स्वास्थ्य तथा जनसङ्ख्या

८.    श्री खड्गबहादुर विश्वकर्मा    मन्त्री    पर्यटन तथा नागरिक उड्डयन

९.    श्री उर्मिला अर्याल    मन्त्री    स्थानीय विकास

१०.    श्री गङ्गालाल तुलाधर    मन्त्री    शिक्षा र विज्ञान तथा प्रविधि

११.    श्री रघुवीर महासेठ    मन्त्री    सिँचाइ

१२.    श्री गोकर्ण विष्ट    मन्त्री    ऊर्जा

१३.    श्री भानुभक्त जोशी    मन्त्री    वन तथा भू-संरक्षण

१४.    श्री घनश्याम भुसाल    मन्त्री    कार्यभार पछि तोकिने

१५.    श्री युवराज कार्की    मन्त्री    सामान्य प्रशासन

१६.    श्री विश्वनाथ साह    मन्त्री    शान्ति तथा पुनःनिर्माण

१७.    श्री जयपुरी घर्ति    मन्त्री    महिला, बालबालिका तथा समाजकल्याण

१८.    श्री रामचरण चौधरी    मन्त्री    भूमिसुधार तथा व्यवस्था

१९.    श्री महेन्द्र पासवान    मन्त्री    उद्योग

२०.    श्री प्रभु साह    मन्त्री    कानुन तथा न्याय

२१.    श्री हितबहादुर तामाङ    मन्त्री    युवा तथा खेलकुद

२२.    श्री हरिनारायण यादव    मन्त्री    कृषि तथा सहकारी

२३.    श्री मोहम्मद इस्तियाक राई    मन्त्री    श्रम तथा यातायात व्यवस्था

२४.    श्री सुनीलकुमार मानन्धर    मन्त्री    वातावरण

२५.    श्री खगेन्द्रप्रसाद प्रसाई    मन्त्री    सङ्घीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृति

२६.    श्री शत्रुघ्न महतो    राज्यमन्त्री    स्थानीय विकास

२७.    श्री दलबहादुर सुनार    राज्यमन्त्री    सिँचाइ

२८.    श्री रामजी शर्मा    राज्यमन्त्री    ऊर्जा

२९.    श्री डम्बर साम्बाहाम्फे    राज्यमन्त्री    सामान्य प्रशासन

३०.    श्री भगवती चौधरी    राज्यमन्त्री    वन तथा भू-संरक्षण

३१.    श्री हकिकुल्लाह खाँ    राज्यमन्त्री    भूमिसुधार तथा व्यवस्था

३२.    श्री देवी खड्का    राज्यमन्त्री    भौतिक योजना तथा निर्माण

३३.    श्री धर्मशिला चापागाई    राज्यमन्त्री    स्वास्थ्य तथा जनसङ्ख्या

३४.    श्री ध्रुव आङ्दाम्बे लिम्बु    राज्यमन्त्री    पर्यटन तथा नागरिक उड्डयन

३५.    श्री नन्दकुमार दत्त    राज्यमन्त्री    कृषि तथा सहकारी

आजको विस्तारले संविधानसभा व्यवस्थापिका संसदमा हाल रहेको ५९७ संख्यामध्ये सरकारको पक्षमा ३९५ -स्पष्ट दुई तिहाई बहुमत) सभासदको समर्थन कायम हुन पुगेको छ । यसरी मौजुदा मन्त्रिपरिषद् संविधान बमोजिम दुई तिहाई बहुमतद्वारा निर्णयमा पुग्नुपर्ने विषयका निम्ति पनि सबल र सुदृढ भएको छ । तर प्रधानमन्त्रीको अभिप्राय नेपाली कांग्रेससहित व्यवस्थापिका संसदभित्रका प्रमुख दलहरुसहितको राष्ट्रिय सहमतिको सरकार बनाउने पक्षमा दृढ रहेको सर्वविदितै छ ।

आजै राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा सम्माननीय राष्ट्रपति डा. रामबरण यादवको समुपस्थितिमा सम्माननीय प्रधानमन्त्रीले उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री उपेन्द्र यादव, मन्त्रीहरु अग्निप्रसाद सापकोटा, शक्तिबहादुर बस्नेत, घनश्याम भुसाल,  विश्वनाथ साह, रामचरण चौधरी, महेन्द्र पासवान, प्रभु साह, हितबहादुर तामाङ, हरिनारायण यादव, मोहम्मद इस्तियाक राई, सुनीलकुमार मानन्धर र खगेन्द्रप्रसाद प्रसाईलाई पद तथा गोपनियताको सपथग्रहण गराउनुभयो । यसैगरी सिंहदरबारस्थित हर्क गुरुङ सभाहलमा राज्यमन्त्रीहरु देवी खड्का र धर्मशिला चापागाईलाई पनि उहाँले पद तथा गोपनियताको सपथग्रहण गराउनुभयो । मन्त्री जयपुरी घर्ति तथा राज्यमन्त्रीहरु हकिकुल्लाह खाँ, ध्रुव आङ्दाम्बे लिम्बु र नन्दकुमार दत्तको सपथग्रहण भने बाँकी नै रहेको छ । आजको सपथग्रहण कार्यक्रममा उपप्रधानमन्त्री यादव तथा मन्त्रीहरु हरिनारायण यादव र मोहम्मद इस्तियाक राईले हिन्दी, रामचरण चौधरीले थारु, प्रभु साहले भोजपुरी, विश्वनाथ साहले मैथिली र हितबहादुर तामाङले तामाङ भाषामा सपथ लिनुभएको थियो ।

२१ बैशाख २०६८

सूर्य थापा

प्रधानमन्त्रीका प्रेस सल्लाहकार