नेपाल पत्रकार महासंघमा ५५ वर्षसम्म रहेको प्रजातान्त्रिक वर्चश्वलाई तोड्दै यस पटक वामपन्थी नेतृत्व विजयी

काठमाडौँ – नेपाल पत्रकार महासंघमा ५५ वर्षसम्म रहेको प्रजातान्त्रिक वर्चश्वलाई तोड्दै यस पटक वामपन्थी नेतृत्व विजयी भएको छ। ३१ सदस्यीय कार्यसमितिमा एक पदाधिकारी र पाँच सदस्यबाहेक सबैमा एमाले-माओवादीको वाम गठबन्धनका उम्मेदवारको प्यानलले जित हात पारेको हो। अध्यक्ष पदमा वाम गठबन्धनका शिव गाउँले ६८५ मत ल्याउँदै निर्वाचित भए। उनका निकट प्रतिद्वन्द्वी कांग्रेससमर्थित प्रेस युनियनका उम्मेदवार पोषण केसीले ४ सय ४४ र प्रजातान्त्रिक धारबाट स्वतन्त्र उम्मेदवारी दिएका  केदार कोइरालाले १ सय २२ मत ल्याए।

उपाध्यक्षमा वाम गठबन्धनका यसोदा तिम्सिनाले प्रेस युनियनका रमेश विष्टलाई ५४६ का विरुद्ध ६६७ मतले पराजित गरे। महासचिवमा वाम गठबन्धनका ओम शर्माले झिनो मतअन्तरले प्रेस युनियनका रामजी दाहाललाई पराजित गरे। शर्माले  ६ सय ५ र युनियनका दाहालले ६ सय २ मत पाए। मतअन्तर झिनो भएकोले दुई पटक गणना गरिएको थियो।

सचिवमा प्रेस युनियनका जगत नेपालले ६ सय ३५ मतका साथ ५ सय १३ पाएका क्रान्तिकारीका चन्द्रमान श्रेष्ठलाई पराजित गरे। कोषाध्यक्षमा प्रेस चौतारीका शितल शाह निर्वाचित भए।  शाहले ४ सय ९८ मत पाएका थिए भने  उनका प्रतिद्वन्द्वी बृजकुमार यादवले ४ सय १४, उजिर मगरले २ सय ८० र गजेन्द्र बुढाथोकीले ६५ मत पाए।

प्रतिष्ठान शाखाबाट केन्द्रीय सदस्यमा प्रेस चौतारीका बालकृष्ण बस्नेत र मातृका पौडेल निर्वाचित भए।  उपत्यकाबाट केन्द्रीय सदस्यमा वाम गठबन्धनका दीपक पाण्डे र दामोदर तिमिल्सिना निर्वाचित भए। मध्यमाञ्चलबाट केन्द्रीय सदस्यमा प्रेस चौतारीका प्रताप विष्ट र महेश दास विजयी भए। पूर्वाञ्चलमा पनि  केन्द्रीय सदस्यमा प्रेस चौतारी कै मोहनकाजी न्यौपाने र सिद्धराज राई विजयी भए ।

एसोसिएटमा प्रकाश थापा र उज्ज्वल आचार्य विजयी भए। दुवैलाई युनियनले समर्थन गरेको थियो।


मध्यपश्चिमाञ्चलमा वाम गठबन्धनका सूर्यमणि गौतम र प्रभात चलाउने विजयी भए। सुदूरपश्चिमाञ्चलबाट चौतारीका दिलबहादुर छत्याल र  युनियनका कर्ण शाह निर्वाचित भए। 

पश्चिमाञ्चलबाट वाम गठबन्धनका मोहन चापागाईं र रुद्र भट्ट निर्वाचित भए। कर्णालीबाट प्रेस युनियन समर्थित जयबहादुर रोकाया निर्वाचित भए।


महिलामा शान्त बस्नेत, दुर्गा भण्डारी र संगीता खड्का विजयी भए । बस्नेत र भण्डारीलाई चौतारी तथा खड्कालाई क्रान्तिकारीले समर्थन गरेको थियो।


दलितमा युनियनका प्रकाशचन्द्र परियार र चौतारीका निशा विश्वकर्मा विजयी भए। जनजातिमा चौतारीका खिम घले र युनियनका दिलिप थापामगर विजयी भए।


मधेसीमा युनियनका राजेश मिश्र र क्रान्तिकारीका धर्मेन्द्र कर्ण विजयी भए। – नागरिक