नवनियुक्त उद्योगमन्त्री महेन्द्र पासवान, महिला मन्त्री जयपुरी घर्ती र पर्यटन राज्यमन्त्री ध्रुव आङदम्बेले शपथ लिन नमानेका हुन् ।
वैद्य पक्षका सचिव सीपी गजुरेलले नेतृत्वबीचको सहमतिविपरीत अन्तिम समयमा मन्त्रालय हेरफेर गरिएकाले दुई मन्त्री र राज्यमन्त्रीले शपथ नलिएको बताए । ‘समानुपातिक र समावेशी हिसाबले मन्त्रालय बाँडफाँड गर्ने नेतृत्वबीचको सहमति कार्यान्वयन भएन,’ उनले भने । उनका अनुसार पर्यटनमन्त्री खड्गबहादुर विश्वकर्मालाई सञ्चार र पयर्टनमा महेन्द्र पासवानलाई पठाउने सहमति भएको थियो ।
बुधबार बेलुका वैद्यले अध्यक्ष दाहाललाई शपथग्रहण रोक्न भने पनि उनले अस्वीकार गरेका थिए । ‘उपाध्यक्षले बिहीबार शपथ गरौंला, आज रोक्नुस् भन्नुभएछ,’ गजुरेलले भने, ‘अध्यक्षले त्यो पनि नमानी शपथग्रहण गराउनुभएछ ।’ पछिल्लो समयमा केन्द्रीय समितिमा दाहाल र वैद्यबीच अन्तरसंघर्ष बढेको छ ।
केन्द्रीय सदस्यसमेत रहेकी घर्तीले भने मन्त्रिमण्डलमा ३३ प्रतिशत महिला सहभागी नभएको भन्दै शपथ लिन अस्वीकार गरेको बताइन् । ‘पार्टीहरूले ३३ प्रतिशत महिला सरकारमा नपठाएसम्म मन्त्री हुन्नँ,’ उनले भनिन्, ‘विगत सरकारले पनि ३३ प्रतिशत महिला सरकारमा पठाएन, हाम्रो पार्टीले पनि पठाएन । यो मेरो एक प्रकारको विद्रोह
हो ।’ उनले त्यसबारे अध्यक्ष पुष्पकमल दाहालसँग बुधबार कुरा गरी ३३ प्रतिशत महिला पार्टीका तर्फबाट सरकारमा सहभागी नभएसम्म आफू सहभागी नहुने बताएको जानकारी दिइन् ।
वैद्य पक्षकै सिरहा-५ बाट संविधानसभामा निर्वाचित महेन्द्र पासवानले त्यही क्षेत्रबाट पराजित विश्वनाथ साहलाई शान्तिमन्त्री बनाएको भन्दै शपथ लिन नमानेका हुन् ।
पासवानलाई उद्योगमन्त्रीका रूपमा सिफारिस गरिएको थियो । साह पोलिटब्युरो र पासवान केन्द्रीय सदस्य हुन् ।
सरकारमा गएका माओवादी मन्त्रीहरूमा दाहालको वर्चस्व छ ।
बुधबार मन्त्री भएकाहरूमा सञ्चारमन्त्री अग्नि सापकोटा, स्वास्थ्यमन्त्री शक्ति बस्नेत, विश्वनाथ साह, हितबहादुर तामाङ, रामचरण चौधरी थारू दाहाल पक्षका हुन् । सञ्चार राज्यमन्त्री धर्मशीला चापागाईं र भूमिसुधार राज्यमन्त्री हकिकुल्लाह खाँ पनि दाहाल पक्षका हुन् । उपप्रधान तथा गृहमन्त्री महरा पनि पछिल्लो समयमा दाहालतिर लागेका छन् । केही समय उनी वैद्य पक्षतिर थिए । सरकारमा वैद्य पक्षका पर्यटनमन्त्री खड्गबहादुर विश्वकर्मा मात्र छन् । पासवान र घर्तीको नाम पार्टीले पठाए पनि अन्तिम समयमा उनीहरूले शपथ लिन अस्वीकार गरेका थिए । सरकारमा भट्टराई पक्षका भौतिक योजना तथा निर्माणमन्त्री टोपबहादुर रायमाझी, कानुनमन्त्री प्रभु साह र भौतिक योजना राज्यमन्त्री देवी खड्का हुन् ।
यसैबीच गृहमन्त्रीको विवादका कारण शान्ति तथा पुनर्निर्माणमन्त्री वर्षमान पुन सरकारबाट फिर्ता भएका छन् । उनी एमालेसँग सहमतिपछि गृहमन्त्री हुने गरी शान्तिमन्त्रीमा नियुक्त भएका थिए ।
पार्टीभित्र गृहमन्त्रीबारे विवाद भएपछि दाहालले पुनलाई गृहमन्त्री बनाउन नसक्दा उनी फिर्ता भएका हुन् । उनलाई राजधानी र मध्यमाञ्चल केन्दि्रत ‘विशेष ब्युरो’ को इञ्चार्ज बनाउने गरी सरकारबाट फिर्ता गरिएको हो ।
‘पार्टीको जिम्मेवारीमा रहने गरी सरकारबाट फिर्ता भएको हुँ,’ मन्त्रीबाट फिर्ता भएलगत्तै उनले भने, ‘मैले राजीनामा दिएको होइन । अब म पार्टीले दिएको जिम्मेवारीमा लाग्छु ।’ हाल
उनी माओवादीका सैन्य इञ्चार्ज पनि छन् ।
माओवादीमा गृह मन्त्रालय कसले पाउने भन्नेमा ठूलो विवाद थियो । उपाध्यक्ष मोहन वैद्य पक्षले स्थायी समिति सदस्य देव गुरुङलाई दिनुपर्ने अडान राखेपछि विवाद चुलिएको
हो । संस्थापन पक्षले गृहमन्त्री दिन अस्वीकार गरेपछि गुरुङले सरकारमा जान अस्वीकार गरेका थिए । उनलाई सूचना तथा सञ्चारमन्त्री बनाउने प्रस्ताव गरिएको थियो ।
आफ्ना विश्वास पात्र मानिएका पुनसँगको छलफलपछि दाहालले शान्तिमन्त्रीबाट फिर्ता बोलाउने निर्णय गरेका थिए । तर औपचारिक रूपमा सरकारबाट फिर्ता गर्ने निर्णय भने माओवादीले गरेको छैन । केन्द्रीय पदाधिकारी बैठकले मन्त्री चयन गर्ने जिम्मा दाहाललाई दिएकाले उनले विशेष अधिकार प्रयोग गरी आफ्नो पक्षका धेरै व्यक्ति मन्त्रीमा पारेका हुन् ।
कृष्णबहादुर महरा उपप्रम गृह उपेन्द्र यादव उपप्रम परराष्ट्र अग्नि सापकोटा मन्त्री सूचना तथा सञ्चार शक्ति बस्नेत मन्त्री स्वास्थ्य तथा जनसंख्या घनश्याम भुसाल मन्त्री कार्यभार पछि तोकिने विश्वनाथ साह मन्त्री शान्ति तथा पुनर्निर्माण जयपुरी घर्ती मन्त्री महिला, बालबालिका तथा समाजकल्याण रामचरण चौधरी मन्त्री भूमिसुधार तथा व्यवस्था महेन्द्र पासवान मन्त्री उद्योग प्रभु साह मन्त्री कानुन तथा न्याय हितबहादुर तामाङ मन्त्री युवा तथा खेलकुद हरिनारायण यादव मन्त्री कृषि तथा सहकारी मोहम्मद इस्तियाक राई मन्त्री श्रम तथा यातायात व्यवस्था सुनीलकुमार मानन्धर मन्त्री वातावरण खगेन्द्रप्रसाद प्रसाईं मन्त्री संघीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृति हकिकुल्लाह खाँ राज्यमन्त्री भूमिसुधार तथा व्यवस्था देवी खड्का राज्यमन्त्री भौतिक योजना तथा निर्माण धर्मशीला चापागाईं राज्यमन्त्री स्वास्थ्य तथा जनसंख्या ध्रुव आङ्दम्बे लिम्बू राज्यमन्त्री पर्यटन तथा नागरिक उड्डयन नन्दकुमार दत्त राज्यमन्त्री कृषि तथा सहकारी



