पीडितलाई न्याय दिनुको साटो पीडकलाई साथ दिएको भन्दै आक्रोशित स्थानीयले गाविस कार्यालयमा तोडफोड गरेका छन्। स्थितिलाई नियन्त्रणमा लिन थप सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ।
गासिव संयन्त्रका सदस्यसमेत रहेका गणेश अधिकारीले घरमा काम गर्न राखिएकी भुजेल थरकी किशोरीलाई विगत ५ महिनादेखि यौन शोषण गरिरहेको अभिभावक एवं स्थानीयको आरोप छ।
पीडित किशोरीले वैशाख ११ गते राति विष सेवन गरेपछि मात्रै यसको रहस्य खुलेको थियो। विष सेवन गरेपछि उनलाई तत्काल उपचार गर्न धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको थियो।
वैशाख १५ गते डिस्चार्ज भएर घर फर्किएपछि किशोरीको योनीबाट रक्तस्राव भएपछि उपचारको बहानामा गर्भपतन गराएको हुनसक्ने पीडितका अभिभावकले आशंका गरेका छन्। प्रहरीले बुधबार बिपी प्रतिष्ठानमा उनको स्वास्थ्य परीक्षण गराएको छ।
स्थानीय दलका नेता, प्रहरी र पारालिगल नामक संस्थाले घटनालाई दबाउने प्रयास गरेर पीडक अधिकारीको सरंक्षण गरिरहेको स्थानीयको आरोप छ। अघिल्लो दिन जाहेरी लिन अस्वीकार गरेको महेन्द्रनगर प्रहरी कार्यालयले स्थानीयले घेराउ गरेर दबाब दिएपछि मात्रै बैशाख १८ गते जाहेरी दर्ता गरेको थियो। प्रहरी निरीक्षक राजेन्द्र थापा र अधिकारी दिनहुँ साँझमा सँगै रक्सी पिउने साथी भएकाले सुरुमा जाहेरी दर्ता गर्न नमानेको र जाहेरी दर्तापछि पनि अभियुक्त पक्राउ गर्न चासो नदेखाएको पीडित परिवार एवं स्थानीयको आरोप छ।
‘अहिले पनि बनावटी कुरा गरेको हो भन्दै जाहेरी फिर्ता लिन धम्की दिँदैछन्। अरुसँग २ लाखमा मिलाउने भन्दै हिँड्दैछन्,’ पीडितकी ठूलीआमा चन्द्रकला भुजेलले भनिन्। पीडितकी आमा गोमा भुजेलका अनुसार अधिकारीको डरको कारण जाहेरी लेखिदिन कसैले पनि मानेको थिएन।
५ महिनाअघि प्रहरी निरीक्षक थापासँग पार्टी खाएर घर आएका अधिकारीले एक्कासी अँगालो मार्दै जबर्जस्ती गरेको र २ महिनायता महिनावारी पनि रोकिएको पीडित किशोरीले बताइन्।
अस्पतालबाट बिहीबार घर फर्किएपछि रगत बगे पनि आफू बेहोस भएकोले गर्भपतन गराए, नगराएको बारे थाहा नभएको उनको भनाइ छ।
आरोपी अधिकारीका पत्नी र २ छोराछोरी छन्। पारालिगलकी अध्यक्ष इनु अधिकारीले भाइलाई संरक्षण नगरेका दाबी गरिन्। ‘भाइसँग मेरो कुनै सरोकार छैन, उसलाई मैले लुकाएको पनि छैन। पारालिगलले यो घटनालाई थाहा पाएदेखि नै चासो दिएको छ,’ प्रहरी सुरक्षा घेरामा रहेकी उनले भनिन्।
प्रहरी निरीक्षणक राजेन्द्र थापाले अभियुक्त संरक्षण गरेको अस्वीकार गर्दै उनी लुक्न सक्ने स्थान र आफन्तको घरमा खोजी तीब्र पारेको बताए।



