नवनियुक्त प्रधानन्यायाधीश खिलराज रेग्मीद्वारा पदभार ग्रहण

काठमाडौं – नवनियुक्त प्रधानन्यायाधीश खिलराज रेग्मीले शुक्रबारदेखि आफ्नो कार्यभार सम्हालेका छन् । बिहान शीतल निवासमा राष्ट्रपति रामवरण यादवबाट शपथ लिएलगत्तै प्रधानन्यायाधीश रेग्मीले सर्वोच्च अदालतमा पदभार ग्रहण गरेका हुन् ।

शपथ लिएपछि प्रधानन्यायाधीश रेग्मीले न्याय सम्पादनमा शुद्धता र निष्पक्षता आफ्नो पहिलो प्राथमिकता रहेको बताए । उनले न्यायमा जनताका लागि समान पहुँचको प्रतिबद्धतासमेत जनाए । ‘उत्तरदायित्वपूर्ण तरिकाले काम गर्छु,’ संवाददाताहरुसित उनले भने, ‘शुद्धता र निष्पक्षता अर्को प्रमुख कुरा हो ।’

प्रधानन्यायाधीश रेग्मीले पत्रकारहरुबाट पनि सहयोगको अपेक्षा गरेका छन् । ‘तपाईंहरुबाट पनि ‘इम्पार्सियल’रुपले वस्तुपरक ढंगले सूचना प्रवाह होस्,’ उनले भने ।

निवर्तमान प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठले उमेर हदका कारण अवकास पाएपछि बरिष्ठताका आधारमा रेग्मी प्रधानन्यायाधीश नियुक्त भएका थिए । रेग्मीको कार्यकाल तीन वर्ष दुई महिनाको हुने छ । २०४७ सालयता विश्वनाथ उपाध्यायपछि सवभन्दा बढी समय प्रधान्यायाधीश हुनेमा रेग्मी पहिलो हुन् ।