सगरमाथा चढेरमात्रै फर्कन्छु, भन्दै हिंडेका पूर्वपरराष्ट्र तथा भूमिसुधारमन्त्री शैलेन्द्रकुमार उपाध्यायको निधन


सगरमाथा चढ्न बैशाख पहिलो साता त्यसतर्फ प्रस्थान गर्नुअघि रसवरी खाँदै उपाध्याय । फाइल तस्बिर

 

– शिला पाण्डे

 

काठमाडौं  – ‘सगरमाथा चढेरमात्रै फर्कन्छु,’ भन्दै हिंडेका पूर्वपरराष्ट्र तथा भूमिसुधारमन्त्री शैलेन्द्रकुमार उपाध्यायको सोमबार निधन भएको छ । पहिलो चुनौती पार नगर्दै उनको निधन भएको पुष्टि पर्यटन उद्योग महाशाखाले गरेको छ ।

 

सोमबार अपराह्न ४ बजेतिर बढी उचाइमा अक्सिजनको कमी र रक्तचापका कारण उपाध्यायको निधन भएको महाशाखाले जनाएको छ । ‘क्याम्प १ पुगेपछि उनको स्वास्थ्य बिगि्रएको थियो,’ आधारशिविरमा रहेका सम्पर्क अधिकृत तिलक पाण्डेले भने, ‘बिरामी भएपछि आधारशिविरै फर्काउँदै गर्दा बीचैमा मृत्यु भएको खबर पायौं ।’ उनको मृत्यु भएको स्थानलाई पपकन भनिन्छ ।

 

सगरमाथामा अत्यधिक हिउँ परेका कारण उपाध्यायको शव मंगलबारमात्र तल ल्याइने पाण्डेले बताए । ‘हिउँका कारण सम्भव भएन,’ उनले फोनमा भने, ‘अब मंगलबार बिहानमात्र शव आधारशिविर ल्याइएला ।’

 

यसअघि ७६ वर्षको उमेरमा सगरमाथाको सफल आरोहण गरेका मीनबहादुर शेरचनको विश्व कीर्तिमान तोड्ने लक्ष्यसहित उपाध्याय आरोहणमा निस्केका थिए । ८२ वर्षका उपाध्याय पनि शेरचनलाई सगरमाथा चुचुरोमा पुग्ने व्यवस्था मिलाएको हिमालयन हेरिटेजकै व्यवस्थापनमा आधारशिविर पुगेका हुन् ।

 

उपाध्याय २०४६ सालको आन्दोलनताका परराष्ट्र तथा भूमिसुधारमन्त्री थिए । उनी २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएदेखि सात वर्षसम्म उक्त पार्टीको केन्द्रीय नेतृत्वमा थिए । ०१७ सालमा तत्कालीन राजा महेन्द्रले सत्ता हातमा लिएपछि मातृकाप्रसाद कोइराला, मनमोहन अधिकारीसँगै उनी पनि विराटनगर जेलमा परेका थिए । तर चार महिना जेल बसेपछि राजासँग सहमति गरी उनी पञ्चायती राजनीतिमा सक्रिय भए ।