प्रधानमन्त्री झलनाथ खनाल र राष्ट्रसंघीय महासचिव वान की मुनवीच इस्तानबुलमा भेट

इस्तानबुल – अतिकम विकसित मुलुक ( एलडिसी) समूहको चौथो सम्मेलनका लागि टर्की भ्रमणमा रहेका प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रसंघीय महासचिव वान की मुनसंग इस्तानबुलमा भेट गरेका छन् । अतिकम विकसित मुलुकहरुको चौथो सम्मेलनका लागि त्यहाँ पुगेका प्रधानमन्त्री खनालले विभिन्न देशका राष्ट्रप्रमुखसंग भेटघाट तिव्र पारेका छन् ।

महासचिव वानसंग आधा घण्टा भएको भेटमा प्रधानमन्त्री खनालले नेपालको पछिल्लो राजनीतिक अवस्था,शान्ति प्रक्रिया र संविधान निर्माणका विषयमा जानकारी गराएका थिए । प्रधानमन्त्रीले शान्ति प्रक्रिया सहमतिमा पुर्‍याउन र समय थपेर भएपनि संविधानसभाबाट नयाँ संविधान जारी गर्न आफू नेतृत्वको सरकार दृढ रहेको बताएको उनका प्रेस सल्लाहका सूर्य थापाले जनाए ।

भेटमा महासचिव वानले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणको  जारी प्रक्रियाको पूर्ण सफलताको शुभकामना दिए । उनले प्रधानमन्त्री खनालकै नेतृत्वमै यी महत्वपूर्ण कार्य सम्पन्न हुने विश्वास व्यक्त गरे ।