काठमाडौं – आफ्ना सभासद्हरुमाथि लागेको कुटनीतिक राहदानी दुरुपयोगको आरोपका बारेमा संसदीय छानविन समिति गठन गर्न मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले माग गरेको छ। बिहीबार फोरमले संविधानसभा अध्यक्ष सुवाशचन्द्र नेम्वाङलाई ज्ञापनपत्र बुझाई यस्तो आग्रह गरेको हो।
राहदानी दुरुपयोगकोबारेमा अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीप्रति भर पर्ने विश्वासिलो अवस्था नरहेको जनाउदै स्वतन्त्र संसदीय छानविन समिति गठन आवश्यक रहेको जनाएको छ।
‘कुटीनीतिक राहदानी दुरुपयोगका सन्दर्भमा हामी स्वच्छ, स्वस्थ र विश्वासनीय छनविनको पक्षमा छौ र हाम्रो माग पनि त्यही छ। तर राहदानी दुरुपयोग भएको संगिन विषया प्रहरी र अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका चाँजवुझ तथा छानविन गर्ने निकायहरुको प्रक्रिया र कार्यशैली शंकास्पद भएकोले संसदीय छनविन गर्न माग गर्दछौ,’ फोरम लोकतान्त्रिकले सभामुखलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ।
फोरम लोकतान्त्रिका सभासद्द्वय करिमा वेगम र संजय साहको राहदानी उपलव्ध गराउन अख्तियारले संसद समक्ष माग गरेको छ। यसअघि मधेसी जनअधिकार फोरम नेपालका सभासद् विश्वनाथ यादव र नेपाली जनता दलका गायत्री साहलाई कुटनीति राहदानी दुरुपयोगको आरोप लगाई अखितयारले अनुसन्धानको लागि हिरासतमा राखेको छ।