काठमाडौं – माओवादी मजदुर यूनियनका अध्यक्ष कल्पदीप राई सहकर्मी कुटपिट गरेको अभियोगमा होटल अन्नपूर्णस्थित क्यासिनो अन्नामा पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले राइलाई उनको ललितपुरस्थित निवासबाट शनिबार पक्राउ गरेको हो । गृहमन्त्री कृष्णबहादुर महराको सहमति पछि पक्राउ गरेको प्रहरीसम्बद्ध श्रोतले जनाएको छ ।
राई सहितको समूहले चार दिन अघि अन्ना क्यासिनोमा कार्यरत बाबुराम पक्षधर टे्रड युनियन संघको इकाइका कोषाध्यक्ष ज्ञानमान डंगोललाई अंगभंग हुने गरी कुटपिट गरेका थिए । उनलाई पार्टीले कारबाही गरिसकेको छ ।
कुटपिटबाट गम्भिर घाइते डंगोलको मोडल अस्पतालमा उपचार भइरहेको छ । पिटाइबाट उनी दुबै कान सुन्न नसक्ने भएका छन् भने घाँटीको हड्डी भाँचिएको छ । डंगोलकी श्रीमतीको लिखित जाहेरीका आधारमा पक्राउ गरिएको काठमाडौं परिसर प्रमुख एसपी केदार रिजालले बताए ।
माओवादीसम्बद्ध ट्रेड युनियन महासंघका पूर्व अध्यक्ष सालिकराम जमकट्टेलका विश्वासपात्र राईले यसअघि पनि असहमत पक्षमाथि सांघातिक आक्रमण गरेको आरोप छ । तर जमकट्टेलकै संरक्षणका कारण उनी कारबाहीबाट बच्दै आएका थिए । यसपटक पनि उनलाई कारबाही नगर्न दबाव थियो । तर बावुराम पक्षको दबावको कारण गृहमन्त्रीले पक्राउ गर्न सहमति दिएको प्रहरी प्रधान कार्यालयसम्बद्ध श्रोतले जनाएको छ । ज्यान मार्ने उद्योग, कुटपिट लगायतका घटनामा संलग्न भई फरार भएको प्रहरी अभिलेखमा राईको नाम छ ।
२०६५ कात्तिक ४ गते धादिङबाट अपहरण गरी एमालेसम्बद्ध तत्कालिन युथफोर्सका पुस्कर डंगोल र निर्मल पन्तको हत्याका अभिययुक्त उनी प्रहरीको सुचीमा ‘फरार’ थिए । उक्त घटनामा उनीलगायतलाई मृतकका आफन्तद्धय दीपक डंगोल र रुकमणी पन्तले किटानी जाहेरी दिएका थिए । तर उच्च राजनीतिक संरक्षण्का कारण प्रहरीले उनलाई पक्राउ गर्ने हिम्मत देखाएको थिएन । यस्तै राजधानीका बिभिन्न प्रहरी कार्यालयमा उनीविरुद्ध एक दर्जन भन्दा बढी सार्वजानिक अपराध मुद्दा दर्ता छन् । माओवादी नेतृत्वको सरकारका बेला अन्ना क्यासिनोमा प्रहरीसंग झडप हुदाँ उनी सहितको टोलीले प्रहरीको सञ्चारसेट लुटेको थियो । उक्ता घटनामा क्षतिपुर्ति स्वरुप प्रहरीले ६० हजार रुपैंयाँ लिएको थियो ।
संगठन बिरोधी क्रियाकलपामा लागेको भन्दै माओवादी पार्टी महासचिब रामबहादुर थापाले क्यासिनो अन्नपुर्णका होटल मजदुर संगठन ईकाईका अध्यक्ष राई, सदस्यद्धय नानीकाजी बस्नेत र किशोर खत्री माथी एक बर्षसम्म संगठनको साधारण सदस्य समेत नरहने गरी हालै कारबाही गरेको छ । प्रहरी स्रोतका अनुसार सल्यान घर भएका राईले माओवादीसम्बद्ध मजदुर युनियनमा सक्रिय भए पछि ललितपुरको लुभुमा २ राेपनी जग्गामा भब्य घर बनाएका छन् ।



