काठमाडौ – पटक-पटक नाराबाजी र तोडफोडमा उत्रिएका दलित जनजाति पार्टीका सभासद् विश्वेन्द्र पासवानले आइतबार पनि संवैधानिक समिति र व्यवस्थापिका संसद्को बैठकमा आफ्नो कार्यशैलिलाई निरन्तरता दिए ।
सिंहदरवारमा आइतबार बिहान बसेको संवैधानिक समितिको बैठकका निर्णय सुनाउन लाग्दा सभापति निलाम्बर आचार्यको हातबाट उनले निर्णय पुस्तिका खोसेर च्यात्ने प्रयास गरे । त्यसपछि आचार्यले मार्सल लगाउन आदेश दिएपछि पासवानलाई रोक्न मर्यादा पालक अघि सरेपछि उनले ‘म शान्तिवादी हूँ’ भन्दै आफूले लगाएको सर्ट नै च्यातिदिए ।
प्रधानमन्त्री झलनाथ खनाल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल, एमाले नेता माधवकुमार नेपाललगायतका शीर्ष नेता उपस्थित बैठकको एजेन्डा विवाद समाधान उपसमितिको म्याद थप र राज्यपुनर्संरचना समितिको बाँकी कामबारे छलफल थियो ।
बैठकको सुरुमै नेपाः राष्ट्रिय पार्टीका बुद्धरत्न मानन्धरले आफ्ना माग सम्वोधन भए/नभएको जानकारी दिन आग्रह गरेका थिए । मानन्धरपछि माओवादी अध्यक्ष दाहाल, प्रधानमन्त्री खनाल र कांग्रेस संसदीय दलका नेता पौडेलले आफ्नो भनाइ राखेका थिए ।
दाहालले चार सभासद्को माग सकारात्मक भएको भन्दै विषयगत समितिबाटै सवै समस्या टुंग्याउँदै लैजाउनुपर्ने बताएका थिए । पौडेलले मागहरुलाई विशेष जोड दिएर प्रक्रियागतरुपमै समाधान गर्दै जानुपर्नेमा जोड दिएका थिए ।
प्रधानमन्त्री खनालले भने समितिको माग सरकारलेभन्दा पनि संविधानसभाबाटै पूरा गर्नुपर्नेखालका भएकाले समितिको बैठक सुचारु गर्न आग्रह गरेका थिए । ‘मागहरु मैले केलाएर हेरेको छु, सरकारलेभन्दा पनि संवैधानिक समितिले नै यसबारे टुंगो लगाउन सक्छ,’ उनको भनाइ उद्धृत गर्दै एक सभासद्ले भने ।
प्रधानमन्त्रीको भनाइलगत्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी रुक्मिणी चौधरीले मागप्रति प्रमुख दल गम्भीर नभएको भन्दै आक्रोस पोखेकी थिइन् । चौधरीले बोलेपछि बैठक केही समय सुचारु रहृयो ।
जसले माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको विवाद समाधान उपसमितिको म्याद जेठ १३ गतेसम्मका लागि थप गर्ने निर्णय गर्यो भने अल्पसंख्यक समूदायका अधिकार सुनिश्चित गर्न माग गर्दै संवैधानिक समिति र व्यवस्थापिका संसद्को बैठक अबरुद्ध पार्दै आएका चार सभासद्को माग सम्वोधन गर्न सर्वदलीय बैठक बोलाउने र कार्यदल गठन गरी वार्ता गर्ने निर्णय गर्यो ।
बैठकको निर्णय सुनाउन लाग्दा समिति सभापति निलाम्बर आचार्यको हातबाट पासवानले निर्णय पुस्तिका खोस्ने प्रयास गरे । त्यसपछि आचार्यले मार्सल लगाउन आदेश दिएपछि सभासद् पासवानले ‘पत्रकारलाईसमेत छिर्न नदिएर गोप्य बसेको बैठकमा सभासद्भन्दा बढी कर्मचारी र पर्यादा पालकलाई किन छिर्न दिइयो’ भन्दै आफैंले लगाएको सर्ट च्यातेका थिए ।
३५ दिनदेखि चार सभासद्कै कारण अबरुद्ध बैठक पुनः तनावका बीच सकिएपछि सभासद् पासवानसहित उनलाई सहयोग गर्दै आएका रुक्मिणी चौधरी, बुद्धरत्न मानन्धर र सदरुल मियाँ हक ‘अब सभापतिलाई नै थुनिन्छ’ भन्दै समिति सभापति आचार्यको कार्यकक्षमा धर्ना दिन पुगेका थिए ।
सभासद् पासवानले यसअघि पनि संसद् भवनको चौथो तल्लाबाट कुर्सी फ्यालेका थिए ।



