
काम रोकिएपछि पूर्वी तटबन्धमा पानीका बहाव बढेको छ भने स्परहरूमा कटान सुरु भएको छ । तत्काल तटबन्धमाथिको पानीको दबाब नहटाए यस वर्ष तटबन्धले पुनः खतरा निम्त्याउने स्थिति देखिएको छ ।
०६५ भदौ २ गते पूर्वी तटबन्ध भत्कँदा नेपाल र भारतका हजारौं बासिन्दा घरबारविहीन बनेका थिए । कोसीलाई पश्चिमतर्फ फर्काउनै योजनाअनुरूप सुनसरीको पश्चिम कुशाहामै रहेको हावामहल नजिकबाट बीच कोसीमा पाइलट च्यानल खनिएको थियो ।
३० मिटर चौडाइ र दुई मिटर गहिरो च्यानल ६ किलोमिटरसम्म खन्नका लागि कोसी योजनाले १२ करोड भारतीय रुपैयाँमा भारतीय ठेकेदार कम्पनी धर्ती डेजर्सलाई दिएको थियो । उक्त कम्पनीबाट भारतीय अर्को कम्पनी गुरु कन्ट्रक्सनले ‘पेटी कन्ट्रयाक्ट’ मा च्यानल खन्ने काम लिएको थियो । च्यानल खन्ने कामअन्तर्गत कामदारले ६ मध्ये चार किलोमिटर खनिसके पनि ठेकेदार कम्पनीबाट पेटी कन्ट्याक्टरमा काम लिएका गुरु कन्ट्रक्सनले रकम भुक्तानी नदिएपछि काम रोकेका हुन् । च्यानल खनाउने काम गराइरहेको गुरु कन्ट्रक्सनका अजित सिंह केही दिनयता काम हुने ठाउँमा पनि नआएको भुक्तानी माग्दा आलटाल गर्न थालेपछि बाध्य भएर काम रोकेको कामदारले बताए ।
उक्त च्यानल खन्ने काम मे १५ सम्ममा सक्नुपर्ने थियो । कोसी योजनाको क्यालेन्डरअनुसार कोसीमा कुनै पनि काम १५ मे भन्दा अघि गर्नुपर्ने हुन्छ । १५ मे पछि बाढीको समय भन्दै तात्कालिक कामहरूमात्र गर्ने गरिएको छ ।
आफूहरूले स्थानीयस्तरमा काम गराउँदा भारतीय ठेकेदारले एक रुपैयाँ पनि नदिएकाले बाध्य भएर काम रोकाउनुपरेको स्थानीयस्तरमा काम गराइरहेका मनोज यादवले बताए । उनले भारतीय ठेकेदारमाथि अहिलेसम्म काम गरेबापत एक करोड ८० लाख बक्यौता रहेको र रकम भुक्तानी नदिएसम्म काम सुचारु नहुने बताए ।
यसैबीच कोसीको पूर्वी तटबन्धबाट पानीको दबाब हटाउन सुरु गरिएको प्यालट च्यानल खन्ने काम रोकिएपछि पुर्वी तटबन्धमाथि पानीको दबाब बढेको छ । मंगलबारदेखि कोसीमा पानीको बहाव पनि बढेको छ । बुधबार बिहान साढे ९ बजेसम्मको मापनमा कोसी ब्यारेज भएर २० हजार क्युसेक पानी बहाव छ । वर्षाअगावै सप्तकोसीका स्परहरू क्षतिग्रस्त हुन थालेका छन् । तटबन्धलाई सुरक्षित बनाउने स्परहरू नै क्षतिग्रस्त बन्न थालेपछि वर्षातमा कोसीको पूर्वी तटबन्ध एकपटक फेरि जोखिममा पर्ने स्थिति देखिएको छ । कटानले कोसी ब्यारेजबाट ११ दशमलव ९० किलोमिटरमा रहेका नयाँ स्परहरू क्षतिग्रस्त हुन थालेका हुन् ।



