एनआरएनएका केन्द्रीय नेताहरु साउदी अरबमा

– धरम के.सी.
   साउदी अरब
 
यूएई डेस्क-गैर आवासीय नेपाली संघ साउदी अरबको तेस्रो महाधिवेशन यही २० मे २०११ मा रियादमा हुंदैछ । महाधिवेशन आयोजक समितिका अनुसार सबै तयारी अन्तिम चरणमा पुगेको छ ।
यस पटकको यो महाधिवेशनमा NRNA-ICC  का शिर्ष नेताहरू अध्यक्ष देबमान हिराचन (जापान), उपाध्यक्ष जिबा लामिछाने (रूस) र कोषाध्यक्ष रामेश्वर शाह (युएई) बिशिष्ट अतिथीका रूपमा सहभागी हुन आउंदै हुनुहुन्छ ।
जिबा र रामेश्वर १९ मे मै रियाद पुग्दै हुनुहुन्छ भने देबमानको पनि टिकट र भिषा उपलब्ध भैसकेको तर भिषा स्ट्याम्पिंग भने बिहीबार (१९ मे मा) मात्र हुने भएको बुझिएको छ । त्यसो त यो महाधिवेशनमा पनि नयां कार्यसमितिको चयन सर्ब सहमतिबाट नै हुने (१८ मे मा) निर्बाचन उप समितिद्वारा प्रकाशित सूचनामा उल्लेखित छ जस अनुसार अध्यक्षमा पुनः धरम के.सी., उपाध्यक्ष द्वयमा हरि घिमिरे र भीम थापा, महा सचिवमा पुरूषोत्तम श्रेष्ठ, सचिवमा डोर बहादुर कार्की, कोषाध्यक्षमा रमेश भण्डारी, सह कोषाध्यक्षमा नारायण पासवान र सदस्यहरूमा नारन वाग्ले, डमर यादव, सूर्य श्रेष्ठ, राम बहादुर बस्नेत, जे. बी. राई, सूर्य बि., चन्द्र प्रकाश भण्डारी, दिपक राज आचार्य, दिनेश साहु र कृष्ण प्रसाद पोखरेल निर्बिरोध निर्बाचित हुने देखिएको छ, किनकि उपरोक्त कुनै पनि पदहरूमा दोहोरो उम्मेदवारी परेको छैन । संसारकै सर्बाधिक संख्यामा एनआरएनहरू रहेको साउदी अरबमा लगातार तेस्रो पटक एनसिसीका कुनै पनि पदहरूमा मतदान नभई सर्ब सहमतिबाट नै हुंदै आएको कार्य समितिको चयनले अन्य मुलुकका एनआरएनहरूलाई पनि एउटा राम्रै संदेश जाने देखिएको छ ।
यस पटकको महाधिवेशनमा प्रतिनिधि सदस्यहरूमा बेग्लै उत्साह पैदा भएको पाइएको छ । रियादमै महाधिवेशन हुन गैरहेकोले रियादका एनआरएनहरूमा त खुशीको माहोल छ नै पुर्बी क्षेत्रका एनआरएनहरूमा पनि जसरी पनि यो महाधिवेशनमा सहभागी हुने इच्छा जागेकोले आयोजक समितिले नै दमाम, खोबार र कतिफ लगायतका क्षेत्रहरूमा बसको ब्यवस्था मिलाइदिएको छ । दिउंसो १ बजे शुरू हुने भनिएको र ठीक १ बजे नै कार्यक्रम शुरू पनि गरेर देखाउने आयोजकको प्रतिबद्धता पनि भएकोले सबै सहभागिहरू तथा अतिथीगणहरूलाई समेत निर्धारित समयमै महाधिवेशन हलमा पुग्न अनुरोध गरेको छ आयोजक समितिले । अन्तराष्ट्रिय बिशिष्ट पाहुनाहरू र प्रमुख अतिथी का.बा. राजदुतज्यु बाहेक अन्य सबै वक्ताहरूलाई स्पष्ट समय र बोल्ने बिषय समेत अग्रिम तोकेर सम्बन्धित ब्यक्तिहरलाई अग्रिम जानकारी समेत गराइएको यो महाधिवेशनमा सबैको उत्सुकता भने ICC  का शिर्ष नेताहरूले के बोल्छन भन्नेमा रहेको बुझिएको छ । त्यस्तै अर्को संयोग यो छ कि यसै महाधिवेशनमा नै का।बा। राजदुत पारस घिमिरेको बिदाई तथा नव नियुक्त का.बा. राजदुत हरिश्चन्द्र घिमिरेको स्वागत समेत गर्ने भएको छ एनआरएनए साउदी अरबले ।
एनआरएनए साउदी अरबले खासगरी बिगत २००९-११ को कार्यकालमा केही राम्रो गरेको धेरैले महशुस गरेका छन । बर्तमान अध्यक्ष लगायतका अन्य कतिपय पदाधिकारीहरूको सम्भावित निरन्तरता पनि त्यसैको प्रतिफल भएको अनुमान गरिन्छ । एनआरएनए साउदी अरबसंग अहिले केही साधन स्रोत समेत जुटेको अवस्था छ । आगामी दिनहरूमा यो संघले इमान्दारिता पुर्बक पीडित नेपाली कामादारहरूको उद्धार तथा उनीहरूको हक हितका बिषयहरूलाई प्राथमिकतामा राख्दै थप र ठोस कामहरू गर्न सकेमा यस संघको गरिमा, महत्व र जनबिश्वास अझै बढ्दै जाने निश्चित छ ।